अमेरिकी अदालतको फैसला : नेपाली नर्स ममताको हत्यामा श्रीमान् नरेश दोषी ठहर
२५ कात्तिक, काठमाडौँ । अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या गरेको अभियोगमा उनका श्रीमान् नरेश भट्टलाई अदालतले प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरेको छ।
अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा बस्दै आएकी ममता काफ्ले भट्ट सन् २०२४ को जुलाईमा बेपत्ता भएकी थिइन् । उनको शव भने अहिलेसम्म फेला परेको छैन । मंगलबार भएको सुनुवाइमा जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको तथा मृत शरीरको अपमान गरेको अभियोगमा दोषी ठहर गरेको हो । दोषी ठहर भएपछि नरेशले आजीवन कारावाससम्मको सजाय भोग्नुपर्ने हुनसक्छ ।
करिब छ हप्तासम्म चलेको सुनुवाइमा झण्डै १०० जनाको बयान लिइएको थियो । नरेश आफैंले पनि अदालतमा बयान दिएका थिए । बयानका क्रममा उनले ममताको शरीर टुक्राटुक्रा पारेर लुकाउन खोजेको स्वीकार गरे पनि आफूले उनको हत्या नगरेको दाबी गरेका थिए ।
नरेशले अदालतमा दिएको बयान यसअघिका आफ्ना भनाइभन्दा निकै फरक थियो । विगत दुई वर्षदेखि उनले प्रहरी, परिवार, साथीभाइ र सञ्चारमाध्यमलाई आफू र ममता सन् २०२४ जुलाई ३१ को राति सँगै खाना खाएर सुतेको र भोलिपल्ट बिहान उठ्दा ममता घरमा नभएको बताउँदै आएका थिए ।
तर अदालतमा उनले ममता जुलाई ३० को बिहानै आफ्नो ओछ्यानको छेउमा बेहोस अवस्थामा रगत तथा बान्ताले लतपतिएको अवस्थामा भेटिएको दाबी गरे। उनका अनुसार ममताको छेउमै विषालु कीटनाशकको खुला प्याकेटसमेत थियो। उनले ममतालाई बचाउने प्रयास गरेको तर नसकेपछि शवलाई बाथरुममा लगेको र त्यसपछि फोहोर फाल्ने डब्बामा राख्न खोजेको बताए।
शव डब्बामा नअटाएपछि आफूले रेसिप्रोकेटिङ स (मेसिन) प्रयोग गरेर शरीर काटेको नरेशले अदालतमा स्वीकार गरेका थिए। त्यसपछि दुई दिनको अवधिमा उत्तरी भर्जिनियाका विभिन्न डम्पस्टरमा कम्तीमा पाँचपटक गएकोसमेत प्रमाण अदालतमा प्रस्तुत गरिएको थियो। पछि उनले उक्त स मेसिन स्थानीय ल्यान्डस्केपरलाई कामको भुक्तानीबापत दिएको बताएका थिए।
फरेन्सिक परीक्षणमा उक्त स मेसिनभित्र भेटिएको रगत ममताको हुनसक्ने निष्कर्षसमेत प्रस्तुत गरिएको थियो।
अभियोजन पक्षले भने ममताको मृत्यु आकस्मिक वा आत्महत्याका कारण नभई नरेशले योजनाबद्ध रूपमा हत्या गरेको दाबी गरेको थियो। अभियोजन पक्षले नरेशको मोबाइल फोन र कार्यालयको ल्यापटपबाट गरिएका विभिन्न गुगल खोजलाई पनि योजनाबद्ध हत्याको प्रमाणका रूपमा अदालतमा पेस गरेको थियो।

सन् २०२४ मार्च २१ मा नरेशले आफ्नो मोबाइलबाट ‘श्रीमती हराएपछि के हुन्छ?’ र ‘भर्जिनियामा श्रीमती हराएपछि सम्बन्धविच्छेद गर्दा के हुन्छ?’ भन्ने विषय खोजेका थिए। त्यसैगरी अप्रिल १२ मा उनले ह्वाइट हाउस मिलिटरी अफिसबाट जारी गरिएको कम्प्युटर प्रयोग गरी ‘मृत श्रीमतीको ऋण के हुन्छ?’, ‘श्रीमतीको मृत्यु भएपछि विवाह गर्न कति समय लाग्छ?’ लगायतका विषय खोजेको अभियोजन पक्षले जनाएको थियो।
ममता र नरेशबीचको वैवाहिक सम्बन्धमा समेत समस्या रहेको प्रमाण अदालतमा पेस गरिएको थियो। नरेशले विवादका क्रममा सम्बन्धविच्छेदको धम्की दिने र ममताले आत्महत्या गर्ने धम्की दिने गरेको बयानसमेत सार्वजनिक भएको थियो।
ममताका दाजु महेश काफ्ले तथा उनका केही साथीहरूले अदालतमा नरेशले ममतालाई शारीरिक रूपमा दुर्व्यवहार गर्ने गरेको बताएका थिए। महेशका अनुसार ममताले आफ्नो अनुहारमा चोट लागेको तस्बिर पठाउँदै आफू असुरक्षित रहेको अवस्थामा आवश्यक परे प्रमाणका रूपमा प्रयोग गर्न सकियोस् भनेर सुरक्षित राखिदिन आग्रह गरेकी थिइन्।
ममताकी साथी सरिता न्यौपानेले पनि सन् २०२४ को फेब्रुअरीमा ममता आफूसँग बसेको र त्यस क्रममा नरेशसँग विवाद भइरहेको तथा सम्बन्धविच्छेदबारे छलफल भइरहेको बताएकी थिइन्। उनका अनुसार ममताले नरेशले आफूलाई कुटपिट गर्ने डर रहेको बताएकी थिइन्।
नरेशले भने आफूमाथि लगाइएका ती आरोप अस्वीकार गर्दै आएका थिए। ममताले सन् २०२३ को डिसेम्बरमा चोट लागेको अनुहारको तस्बिर पठाएर ‘यो दोस्रो पटक हो’ भनेको अवस्थामा नरेशले ‘म सम्बन्धविच्छेदका कागजमा हस्ताक्षर गर्न सक्छु’ भन्ने जवाफ दिएको प्रमाणसमेत अदालतमा पेस भएको थियो।
ममता लगातार दुई दिन काममा नआएपछि अस्पतालले उनको घरमा कल्याणसम्बन्धी जाँचका लागि सम्पर्क गरेको थियो। त्यसबेला नरेशले ममता यसअघि पनि केही समयका लागि हराउने गरेको भन्दै उनको बेपत्ताबारे तत्काल जानकारी गराउन अस्वीकार गरेका थिए। त्यसको तीन दिनपछि मात्रै उनले ममता हराएको जानकारी दिएका थिए। त्यसको करिब तीन सातापछि अगस्ट २२, २०२४ मा नरेश पक्राउ परेका थिए।
ममता र नरेश दुवै नेपालमा हुर्किएका थिए । नरेश सन् २०१५ मा अमेरिका पुगेका थिए र अमेरिकी सेनाको रिजर्भमा आबद्ध भएपछि अमेरिकी नागरिक बनेका थिए । सन् २०२० को डिसेम्बरमा ममतासँग विवाह गरेपछि उनले ममताको अमेरिकी नागरिकताका लागि प्रक्रिया अघि बढाएका थिए। ममता आफ्नो अन्तिम आप्रवासनसम्बन्धी अन्तर्वार्ताको एक साताअघि नै बेपत्ता भएकी थिइन्।
अदालतले मंगलबार नरेशलाई दोषी ठहर गरेसँगै ममताको बेपत्ता र मृत्युको घटनाले नयाँ मोड लिएको छ। यद्यपि ममताको शव भने अहिलेसम्म फेला परेको छैन।
प्रकाशित मिति : November 11, 2026 at 5:15 am










