एमाले नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त
२६ कात्तिक, काठमाडौँ । नेकपा (एमाले) नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी डिल्लीबजार कारागारबाट रिहा भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका रायमाझी ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने सुविधाअनुसार बिहीबार बिहान रिहा भएका हुन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकामा बेच्ने गिरोहमा लागेका रायमाझी जेल मुक्त भएका हुन ।
रायमाझीलाई ज्येष्ठ नागरिकसम्बन्धी सुविधाअनुसार कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालय डिल्लीबजारलाई पत्राचार गरेको थियो । रायमाझीको निवेदनका आधारमा अदालतले संशोधित कैदीपुर्जी पठाएपछि उनलाई कारागारमुक्त गरिएको हो ।

कारागार कार्यालय डिल्लीबजारका अनुसार तिहारअघि नै रायमाझीका लागि संशोधित कैदीपुर्जी प्राप्त भएको थियो । सोही आधारमा आवश्यक प्रक्रिया पूरा गरी उनलाई बिहीबार बिहान थुनामुक्त गरिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई रायमाझी जेल सजाय भुक्तान गरिरहेका थिए । ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार पाउने सुविधाका आधारमा उनको बाँकी कैदमा छुट दिइएको हो ।
प्रकाशित मिति : November 12, 2026 at 10:51 am










