१५ कार्तिक २०८१, बिहीबार | Fri Nov 1 2024

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको सम्झनामा २०५० सालको जेठ ३

(आज ३१ औँ मदन -आश्रित स्मृति दिवस ! उहाँहरूको मृत्युका सन्दर्भमा २०७६ सालमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले  लेख्नुभएको संस्मरण पुनः प्रकाशितगरिएको छ-सम्पादक)

-ईश्वर पोखरेल

२०५० जेठ ३ गते जननेता मदन भण्डारीको रहस्यमय तथा षड्यन्त्रपूर्ण मृत्युपछि नेकपा ( एमाले ) पंक्तिमा मात्र होइन , आम जनतामा समेत शोकको लहर छायो । पार्टी पंक्तिमा कति शोक र चिन्ता छाएको थियो भन्ने कुरा अध्यक्ष मनमोहन अधिकारीले त्रिशूलीको बगरमा मदनको शव खोजी गर्दै नभेटेपछि डाको छोडेर रूनु भएको प्रशंगले मदनप्रति माया , सम्मान र समर्पणभाव कति उत्कर्षमा थियो भन्ने कुरालाई दर्शाउँछ । वास्तवमा , त्यो , मदनको मृत्युमा पार्टी पंक्तिको प्रतिनिधि भाव पनि थियो !

दुर्घटनाको समाचार आएदेखि मुलुकभरिकै जनता चिन्तामा परेका थिए, गाडी नभेटिएको, मदन-आश्रितको कुनै सुईंको – संकेत नमिलीरहेको, अझ पछि मदनका वारेमा केही थाहा नपाइरहेको, पछि अस्वाभाविक अवस्थामा वहाँको शव भेटिएको, वहाँको शव भरतपुर हुँदै काठमाण्डौंमा ल्याइपुर्याएपछि शोकाकूल जनसमूदायको उपस्थिति , जेठ ५ गतेदेखि ८ गतेसम्म काठमाण्डौको दशरथ रंगशालामा वहाँहरूको शवमा श्रद्धान्जली व्यक्त गर्न उपस्थित लाखौं जनसमूदायले वहाँहरूप्रति व्यक्त गरेको श्रद्धान्जली , झण्डै पाँच लाख जनताको अश्रुपुरित शोकाकूल उपस्थितिमा भएको शव – यात्रा आदिले मदन-आश्रितप्रति जनताको अपार माया र सम्मानलाई प्रकट गरेको थियो ।

कसैले कल्पना सम्म पनि गरेका थिएनन् होला , कसैको मृत्युमा यस किसिमको जनआलोन्दोलन पैदा हुनेछ ! तर भयो त्यस्तै ! शव -यात्रामा शोकाकूल भएर उपस्थित लाखौं जनतासित शोकका लागि ऐक्यवद्धता जनाउँदै घरघरबाट असंख्य नागरिकहरू निक्लिएका थिए । शोकका लागि तर अत्यन्त अभूतपूर्व स्थिति ! यस किसिमको स्वत:स्फूर्त उपस्थिति जहाँ राजदरवारका प्रतिनिधिदेखि सबै राजनीतिक पार्टीहरू, विभिन्न संगठन-संस्थाहरूका नेता वा तिनका प्रतिनिधिहरू देखि सामान्य श्रमजीवीसम्मका नागरिकहरूको अभूतपूर्व उपस्थिति ! यस्तो केले संभव भयो, कसरी संभव भयो ! नभूतो , न भविष्यति ..!! वास्तवमा मदन साँच्चै आम नेपाली जन जनका हृदयमा वास वनाइसकेको एउटा विशिष्ट प्रतिभावान राजनेता वनिसक्नुभएको रहेछ !!

मदन – आश्रितको दु:खद निधनप्रति शोक मनाउन र श्रद्धान्जली व्यक्त गर्न नेकपा (एमाले) को केन्द्रीय कमिटीले १२७ सदस्यीय ” अन्त्यष्टी व्यवस्थापन समिति ” गठन गर्यो । पार्टीका सबै औपचारिक कार्यक्रमहरू रद्द गर्रिए , पार्टी कार्यालयहरूमा राखिएका झण्डाहरू झुकाइए । तेह्रौं दिनमा अर्थात् जेष्ठ १५ गते पार्टीव्यापी र जनस्तरमा श्रद्धान्जली कार्यक्रमहरूको आयोजना गरिए । पचहत्तरै जिल्लाका सदरमुकाम तथा गाउँ – शहरहरूमा श्रद्धान्जली सभाहरू गरिए, ती सबै ठाउँमा विशेष किसिमका कलसहरू वनाएर दिवंगत नेताहरूको अस्तु पुर्याइयो र देशभरीका नदी नालाहरू , तलाउ पोखरीहरूमा अस्तु लगेर सेलाउने काम गरियो । मेची महाकाली मात्र होइन, सर्वोच्च उचाइमा रहेको मनांगको तिलिचो ताल पनि मदन-आश्रितको अस्तु सेलाउने महत्वपूर्ण र ऐतिहासिक स्थल वन्यो ।

मदनको अस्तु सहित पार्टीका नेता कार्यकर्ताहरू जनताको ठूलो उपस्थितिमा ती ठाउँहरूमा श्रद्धान्जली कार्यक्रमहरू गरिएका थिए । ती सबै ठाउँहरूमा केन्द्रीय तहका नेताहरूको सहभागिता रह्यो । सबै ठाउँमा आयोजना गरिएका ती कार्यक्रमहरूमा जनताको उल्लेखनीय सहभागिता रह्यो । ती कार्यक्रमहरूमा मदन-आश्रितको नाममा विद्यालयहरू , अस्पतालहरू, सार्वजनिक भवनहरू, पार्क र वगैंचाहरू वनाउने घोषणा गरिए । विभिन्न ठाउँमा स्मृति केन्द्रहरू तथा छात्रवृत्ति–कोषको घोषणा गरियो । ती श्रद्धान्जली कार्यक्रमहरूमा सिंगो पार्टी पंक्तिद्वारा शोकलाई शक्तिमा वदल्ने तथा पार्टीलाई नयाँस्तरमा एकतावद्ध वनाउने संकल्प गरियो ।

मदन भण्डारी र जीवराज आश्रितले आफूहरू जीवीत रहुन्जेल आफ्नो स्पष्ट विचार , उल्लेखनीय कृयाशीलता, पार्टी र आन्दोलनप्रति आफ्नो निष्ठा र निरन्तरतालाई उदाहरणीय रूपमा प्रस्तुत गरिरहनुभो । वहाँहरूले विचारमा ओजस्वीता , दृढता र प्रखरता , प्रस्तुतिमा स्पष्टता ,व्यवहारमा लचकता देखाउनु भयो। वहाँहरूका यी विशेषता तथा विचार र योगदानहरूलाई चीरस्थायी वनाउन दिवंगत नेताहरूका नाममा पार्टी अध्यक्ष मनमोहन अधिकारीको संरक्षकत्वमा ” मदन-आश्रित स्मृति प्रतिष्ठान ” गठन गर्ने निर्णय गरियो । मदन भण्डारीलाई ” जन नेता ” को उपाधी दिने निर्णय गरियो, वहुदलीय जनवाद नै पार्टीको मूल नीति रहने घोषणा गरियो । दिवंगत कमरेड द्वयलाई श्रद्धा र पार्टीप्रति समवेदना प्रकट गर्ने महानुभावहरूप्रति हार्दिक कृतज्ञता प्रकट गर्ने निर्णय गरियो , षडयन्त्रपूरण हत्यामा संलग्न अमर लामालाई गद्दार घोषणा गरियो , सरकारले गठन गरेको प्रचण्डराज ‘ अनिल’को एक सदस्यीय छानविन आयोगले दिएको प्रतिवेदनलाई अस्वीकार गर्दै सरकारी लापरवाहीको भत्सर्ना गरियो । पार्टी केन्द्रले ईश्वर पोखरेलको संपादनमा विशेष प्रकाशन– ” श्रद्धान्जली -स्मारिका ” प्रकाशन गर्ने निर्णय गर्यो । र, वहाँहरूको दु:खद निधन भएको छ महिनापछि अर्थात् २०५० साल कार्तिकमा ” मदन- आश्रित श्रद्धान्जली स्मारिका ” प्रकाशन गरियो । पार्टी केन्द्रले यी सबै कामहरू मदन -आश्रितको हत्या लगत्तै वसेको केन्द्रीय कमिटीका विभिन्न वैठकहरूमा गरेको थियो ।

श्रद्धान्जली कार्यक्रमहरू औपचारिक रूपमा सम्पन्न भएपछि रहस्यमय र षडयन्त्र तरिकाले मदन-आश्रितको हत्या भएको विरोधमा देशव्यापी कार्यक्रमहरू आयोजना गरिए । षडयन्त्रपूर्ण हत्याको विरोध, त्यसको छानवीन तथा अपराधीमाथि कारवाहीको माग गर्दै सिंगो देश जुरूक्क उठेको थियो । सरकारीस्तरमा गठन गरिएको ‘ अनिल ‘ आयोग ले सार्वजनिक गरेको प्रतिवेदनका निष्कर्षप्रति गंभीर असहमती राख्दै सर्वोच्च अदालतका वहालवाला न्यायाधीसको अध्यक्षतामा उच्चस्तरीय, अधिकार सम्पन्न र न्यायिक आयोग गठन गर्नुपर्ने मागसहीत नेकपा (एमाले) को सिंगो पंक्ति सशक्त ढंगले परिचालित भएको थियो । आफ्ना प्रिय नेताप्रतिको अगाध श्रद्धा र सम्मान तथा न्यायिक छानविनका लागि उठाइएको आवाजलाई काँग्रेसको गिरिजा सरकारले भीषण दमन गरेर दवाउने प्रयत्न गर्यो , तर दवाउन संभव भएन । सिंगै मुलुक आन्दोलनमय वन्यो , एमालेले अगुवाइ गरेको आन्दोलनमाथि सरकारले दमन गर्र्दा ठूलो धनजनको क्षति भयो ।

आन्दोलनका क्रममा पुलिसको गोलीबाट नेपाली नागरिकहरू मारिए । नेपाली काँग्रेस, त्यसमा पनि त्यसका सभापति र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको दम्भ र अधिनायकत्वादी–सर्वसत्तावादी चिन्तन, आचरण र शैलीका कारण त्यो मुठभेडको स्थिति वनेको थियो । पछि , आन्दोलनले ठूलो क्षति पुर्याएपछि मदन-आश्रितको रहस्यमय हत्याको न्यायिक छानविन गर्न सर्वोच्च अदालतका वहालवाला न्यायाधीसको अगुवाइमा आयोग वनाउन गिरिजा नेतृत्वको सरकार तयार भयो । रहस्यमय तरिकाले भएको हत्याको तथ्य-सत्य पत्ता लगाउन अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गर्ने लगायतका आन्दोलनसित गाँसिएका विभिन्न मागहरू पुरा गर्न सरकार तत्पर भएको थियो । यसरी , आफ्ना प्रिय तथा आदरणीय नेताहरूको दु:खद निधनको परिणाम सिंगो मुलुकले एउटा अप्रिय अध्यायको सामना गर्नु पर्यो । मदन मरेर जानुभयो तर वहाँले एउट उन्नत विचार र सुदृढ तथा राष्ट्रव्यापी जनआधार भएको पार्टी विरासतका रूपमा छोडेर जानु भयो !!

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार ०७:२६