१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

सडक खुलेको २५ वर्षपछि स्तरोन्नति

१५ कात्तिक, बागलुङ । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि नजिकै रहेको काठेखोला गाउँपालिका–३ धम्जा देराली जोड्ने सडक स्तरोन्नति गर्न थालिएको छ । पच्चीस वर्षअगाडि ‘ट्र्याक’ खुलेको सडकको यसै वर्ष स्तरोन्नति गर्न थालिएको हो । स्तरोन्नतिका ठेक्का प्रक्रिया अगाडि बढेको छ ।

मध्यपहाडी लोकमार्गको काठेखोलादेखि डुडियाँ–तङ्ग्राम–धम्जा देउरालीसम्मको १८ किलोमिटर सडक स्तरोन्नति गरिने सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर अमर अधिकारीले जानकारी दिनुभयो । सङ्घीय सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु ९६ लाख ५३ हजार पाँच सय २३ लागतमा सडक फराकिलो, नाली निर्माण र ग्रोभेलिङ गरिने उहाँको भनाइ छ ।

साढे दुई दशकसम्म सडक स्तरोन्नति नहुँदा काठेखोलाको वडा नम्बर ३, ४ र ताराखोला गाउँपालिकाका हजारौँ नागरिकले सास्ती खेप्नु परेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताउनुभयो । दुई वर्षअगाडि गण्डकी प्रदेश सरकार र गाउँपालिकाको रु एक करोड लागतमा सडकको विभिन्न खण्डमा काम भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “सडक खुलेको लामो समय बित्यो, यतिका समयसम्म सडकको स्तरोन्नति नहुँदा नागरिकले सास्ती खेप्नुपरेको थियो, अब सहज हुँदै जानेछ, गाउँपालिकाले सामान्य रुपमा साँघुरो ठाउँमा फराकिलो बनाउने र भत्किएको स्थानमा पर्खाल लगाएर निरन्तर गाडी सञ्चालन हुने गराउँदै आएका थियौँ, अब पक्की नालीसहित ग्राभेलिङ हुनेछ, जसले यातायातका साधान चल्न समस्या हुनेछैन ।”

काठेखोला–४ का स्थानीय प्रेमबहादुर पुनले सदरमुकाम नजिकको गाउँ जोड्ने सडक अहिलेसम्म स्तरोन्नति नहुँदा सास्ती खेप्नुपरेको बताउनुभयो । हिउँदमा धुलो उडाउँदै गाडी चले पनि बर्खाको सडक सञ्चालन नहुने उहाँको भनाइ छ । उहाँले वर्षौंदेखि तङ्ग्राम र धम्जाका स्थानीय धुलो र हिलोमा सास्ती खेप्दै यात्रा गरेको स्मरण गर्नुभयो ।

स्थानीय कुलबहादुर विकले बर्खाको समयमा गाउँमा कोही अपरझट बिरामी परे ढोकोमा बोकेर अस्पताल लैजानुको विकल्प नभएको सुनाउनुभयो । बर्खाका झन्डै तीन महिना पहिरोले सडक बन्द हुँदै बजार जोड्ने मुख्य सडक स्तरोन्नतिपछि यात्रा गर्न र सामान ढुवानीमा सहज हुने उहाँ बताउनुहुन्छ ।

प्रकाशित मिति : October 31, 2024 at 4:44 pm