१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

बामदेवको मुद्दा फेरि हेर्दाहेर्दैमा, अब बुधबार सुनुवाई हुने

१६ असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरेको मनोनयन विरूद्ध परेको रिटमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा  सुनुवाई नसकिएपछि बुधबार हुने भएको छ ।

मुद्दा हेर्दाहेर्दै बाँकी रहेकाले सुनुवाई बुधबारसम्मका लागि सरेको हाे । गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य मनोनित गरेको विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले सर्वोच्चमा रिट दायर गरेका थिए ।

नेपाली कांग्रेसका नेता समेत रहेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटको सनुवाइ बुधबारबाट सुरू भएको छ । त्रिपाठी गाैतमलाइ राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका थिए । बर्दियाबाट प्रतिनिधिसभाको निर्वाचनमा शर्मनाक पराजय व्यहोरेका गाैतमले संसद प्रवेशका लागि दर्जनाैैँ प्रयास गरे पनि चोरबाटोवाला प्रयास असफल भएको थियो ।

बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा रिट निवेदक र विपक्षी दुबैपक्षबाट बहस भए पनि अझै कानुन व्यवसायीहरुकाे बहस गर्ने क्रम सकिएको छैन । प्रारम्भिक सुनुवाई गर्दै असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमको मनोनयन यथास्थितिमा राख्न र थप संवैधानिक जिम्मेवारी नदिन आदेश दिएको थियो । सँगै यो मुद्धालाई संवैधानिक इजलासबाट टुंगो लगाउन आदेश जारी गरेको थियो ।

रिट निवेदनमा गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग पनि गरेका छन । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाई त्रिपाठीले गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपति कार्यालयले गत भदौ २९ गरेको निर्णय बदर गर्न माग गरिएको छ । गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनीत असंवैधानिक भएको उल्लेख गर्दै सांसदका रुपमा कार्य गर्न नदिन र मन्त्रिमण्डलमा लैजाने कार्य रोक्ने अन्तरिम आदेशको माग रिट निवेदनमा गरिएको छ ।

प्रकाशित मिति : 14:54