बामदेव गौतमको राष्ट्रियसभा सदस्य र मन्त्री हुने योग्यता माथिको सुनुवाइ आज
१६ असोज, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य र मन्त्री बन्न योग्य कि अयोग्य भन्ने बहसको सुनुवाइ आज शुक्रबार हुँदैछ । बुधबारदेखि भएको बहस आज पनि जारी रहनेछ । कानुन व्यवसायीहरुले बहस गर्ने क्रम नसकिएका कारण मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । पक्ष र विपक्षमा बहसका लागि दर्जनाैँ कानुन व्यवसायीको लाम लागेको छ ।
नेपाली कांग्रेसका नेता समेत रहेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटको सनुवाइ बुधबारबाट सुरू भएको छ । त्रिपाठी गाैतमलाइ राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका थिए । बर्दियाबाट प्रतिनिधिसभाको निर्वाचनमा शर्मनाक पराजय व्यहोरोका गाैतमले संसद प्रवेशका लागि दर्जनाैैँ प्रयास गरे पनि चोरबाटोवाला प्रयास असफल भएको थियो ।

बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा रिट निवेदक र विपक्षी दुबैपक्षबाट बहस भए पनि अझै कानुन व्यवसायीहरुले बहस गर्ने क्रम सकिएको छैन । प्रारम्भिक सुनुवाई गर्दै असोज ७ गते गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमको मनोनयन यथास्थितिमा राख्न र थप संवैधानिक जिम्मेवारी नदिन आदेश दिएको थियो । सँगै यो मुद्धालाई संवैधानिक इजलासबाट टुंगो लगाउन आदेश जारी गरेको थियो ।
रिट निवेदनमा गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग पनि गरेका छन । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाई त्रिपाठीले गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपति कार्यालयले गत भदौ २९ गरेको निर्णय बदर गर्न माग गरिएको छ । नेता गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनीत असंवैधानिक भएको उल्लेख गर्दै सांसदका रुपमा कार्य गर्न नदिन र मन्त्रिमण्डलमा लैजाने कार्य रोक्ने अन्तरिम आदेशको माग रिट निवेदनमा गरिएको छ ।
प्रकाशित मिति : 07:33









