५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

संसद् र अदालतमा अन्तराष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाले कार्यक्रम गर्न नपाउने

२३ जेठ, काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले प्रतिपक्षलाई पनि सँगै लैजानका लागि संसद्मा दर्तामा रहेको ‘संस्द सञ्चालन नियमावली’को मस्यौदामा सहमति खोज्न थालेको बताउनुभएको छ ।

यहाँ आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो, “सरकारसँग अहिले दुई तिहाइको बहुमत छ । त्यसैले संसद् सञ्चालन नियमावली सरकारले संशोधन हालेर पनि पार गराउन सक्छ तर सरकारले प्रतिपक्षका कुरालाई पनि सम्बोधन गर्नका लागि नियमावली पास गर्नका लागि सहमति खोजिरहेका छौँ ।”

मन्त्री तामाङले राष्ट्रिय जनता पार्टी पनि सरकारमा आउने छलफल चलिरहेको बताउँदै अहिले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको कुरा चले पनि संविधानमा त्यसलाई संशोधन गर्ने विषय नभएकाले प्रतिपक्षलाई नतर्सन आग्रह गर्नुभयो । उहाँले संसद् र अदालतमा कुनै पनि अन्तर्रा्ष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाले कार्यक्रम सञ्चालन गर्न नपाउने समेत बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अहिलेको सरकार इतिहासकै शक्तिशाली भएकाले मुलुकमा सुशासन र समृद्धि पक्षमा काम गर्नुपर्ने बताउँदै संसद्मा दुई तिहाइ छ भन्दैमा संविधानका मूलभूत कुरालाई परिवर्तन गर्न नहुने धारणा राख्नुभयो ।

राजपमा नेता मनिष सुमनले सरकार र संघीय समाजवादी फोरम नेपालबीच भएको सहमति मधेश विरोधी भएको आरोप लगाउँदै पार्टीले केन्द्र र प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिने चेतावनी दिनुभयो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७५, बुधबार १८:४७