राष्ट्रिय वाणिज्य बैँकमा ऋण अधिकृत रहेका धादिङका राजेन्द्र प्रसाद लुइँटेल ४ लाख ५८ हजार ठगेको आरोपमा पक्राउ
२२ जेठ, काठमाडौँ । महानगरीय अपराध महाशाखाले ४ लाख ५८ हजार रुपैँया ठगी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैँकमा ऋण अधिकृत रहेका धादिङका राजेन्द्र प्रसाद लुइँटेललाई पक्राउ गरेको छ ।
महाशाखाको टोलीले अधिकृत ३० वर्षीय लुइँटेललाई सोमबार कलंकीबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
लुइटेलले कृष्णप्रसाद भट्टराईको मोरङमा रहेको जग्गा धितो राखी रु एक करोड ऋण मिलाइदिन्छु भन्द ४ लाख ५८ हजार लिएर फरार भएका थिए । रकम लिएर फरार भएका लुइँटेललाई भट्टराईले जिल्ला अदालत काठमाडौँमा निवेदन दिएपछि पक्राउ गरेको हो ।
लुइटेललाई ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०७३ जेठ १० गते एक वर्ष कैद र ४ लाख ५८ हजार जरिवाना सुनाएको थियो । पक्राउ लुइँटेललाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँ पठाएको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलवार १९:४९