बालबालिकाको संरक्षण गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकांक्षा साकार पाराैँः राष्ट्रपति भण्डारी
२९ भदाै, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकाको संरक्षण गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकांक्षा साकार पार्नुपर्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय बालदिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले राष्ट्रको भविष्यका जिम्मेवार नागरिक आजका बालबालिकाको संरक्षण र विकासमा दत्तचित्त भई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय आकांक्षालाई साकार पार्न सम्बद्ध सबैको प्रतिबद्धताको अपेक्षा गर्नुभएको छ ।
उहाँको सन्देशमा भनिएको छ ‘नेपालको संविधान तथा कानुनमा बालअधिकारको सम्मान, संरक्षण र सम्बर्द्धनका लागि महत्वपूर्ण प्रावधानहरूको व्यवस्था गरिएको छ । हाम्रो मुलुकले बालअधिकार सुनिश्चित गर्न विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता तथा प्रतिबद्धताहरूमा हस्ताक्षर गरिसकेको छ । यी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नु राज्यको अहम् दायित्व हुन आएको छ ।’

राष्ट्रपति भण्डारीले सन्देशमा भन्नुभएको छ ‘गुणस्तरीय शिक्षा प्राप्त गर्नु बालबालिकाको नैसर्गिक अधिकार भएको सन्दर्भमा बालमैत्री शैक्षिक वातावरणको निर्माण गरी विद्यालयलाई आकर्षणको केन्द्र बनाउन तीनै तहका सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरू, सामुदायिक क्षेत्र, संचार जगत् तथा नागरिक समाजबाट विभिन्न पहलहरू भइरहेका छन् । बालहिंसाविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ । बालसंरक्षण प्रणाली सुदृढीकरण गर्दै अनाथ तथा संरक्षणविहीन बालबालिकाको संरक्षकत्व राज्यले ग्रहण गर्ने नीति समेत लिएको छ ।’
उहाँले विपद्को विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, बालअधिकारकर्मी, सामाजिक संघसंस्था, नागरिक समाज तथा अभिभावकहरू संवेदनशील हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले महामारीको अन्त्यपछि शैक्षिक क्रियाकलापहरू यथावत् सुचारु हुनेमा विश्वास समेत व्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति : 07:30









