५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विपी राजमार्गमा हेभी सवारीलाई अनुमति दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चको अन्तरिम आदेश

२१ जेठ, काठमाडौँ । विपी राजमार्गमा नयाँ मापदण्ड लागू गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णय रोकिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गरेको नीतिगत भ्रष्टाचारको रुपमा औँल्याइएको निर्णयका विरुद्धमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले सरकारसँग १५ दिनभित्र लिखित जवाफ समेत माग गरेको छ । योसँगै मन्त्रालयको निर्णय रोकिएको छ ।

मन्त्री महासेठले ठूला व्यवसायीको प्रलोभनमा परी प्राविधिक प्रतिवेदनलाई लत्याउँदै जेठ १३ गते निर्णय गरेपछि निर्णय सच्याउन दैनिकी डटकमले निरन्तर आवाज उठाइरहेको थियो । नेपालको एकमात्र नमुना र पर्यटकीय सडकको भविष्य नै ध्वस्त पार्ने गरी भएको निर्णयका विरुद्धमा सिन्धुली घर भएका अधिवक्ता कैलाशराज दाहालले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटका पक्षमा सोमबा भएको सुनुवाई अधिवक्ताहरु बसन्त बस्नेत, गणेश अधिकारी र शंकर सुवेदीले बहस गरेक थिए । अधिवक्ताहरुको बहस सुनिसकेपछि न्यायाधीश सपनाप्रधान मल्लको एकल इजलाशले रिटमा निवेदकको माग बमोजिम अन्तरिम आदेश दिएको हो । मन्त्रालयको निर्णयले बीपी राजमार्गको भविष्य संकटमा मात्रै पर्ने अवस्था थिएन दुर्घटनाको जोखिम समेत बढाउने अवस्था रहेको थियो ।

प्राविधिक प्रतिवेदन विपरित मन्त्रीको अध्यक्षतामा भएको बैठकले गरेको गलत निर्णयको माइन्युट ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हचुवाका भरमा १६ दशमलव २ टनका मालवाहक र ३२ सिटे यात्रुवाहक गाडी सञ्चालनको अनुमति दिने निर्णय गरेको थियो । भूबनोट र सडक क्षमताका आधारमा निर्धारित तत्कालीन मापदण्ड कार्यान्वयनमा प्रशासनले कडाइ गरेपछि निरन्तर व्यवसायीले मन्त्रीलाई प्रभावित पार्न सफल भएका थिए । अझ भनौ व्यवसायीका अघि सरकार निरीह भएको थियो ।

मुलुकका सबै सडकमा भारवहन क्षमता निर्धारण गरेर गाडी सञ्चालन गर्नुपर्नेमा उल्टै मापदण्ड कार्यान्वयन भइरहेको ठाउँमा समेत सरकारले निरीहता देखाउनु गलत रहेको थियो । झन्डै चार दशक पुरानो यातायात सिन्डिकेट तोडेर प्रशंसा बटुलेको यातायात मन्त्रालय तथा यातायात व्यवस्था विभागले बीपी राजमार्गलाई जोखिममा पार्ने गरी गरेको निर्णय रोकेर सरकारकै प्रतिष्ठा बचाइदिने काम गरेको छ ।

पढ्नुस अादलतको अादेश

यो पनि पढ्नुहोस्

–विपी राजमार्गको भविष्य संकटमा पार्ने गलत निर्णय फिर्ता गर

–विपी राजमार्गको नयाँ मापदण्डबारेको रिटमा आज सर्वोच्चमा सुनुवाई हुँदै

–रघुविर महासेठको नीतिगत भ्रष्टाचार, व्यवसायीकाे प्रभावमा बिपी राजमार्गमा नयाँ मापदण्ड

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार १७:२७