अर्थमन्त्री युवराज खतिवडाले दिए राजीनामा
१९ भदौ, काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा दिएका छन् । शुक्रबार साँझ उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए ।
गत फागुनमा राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएपछि खतिवडाले २०७६ फागुन २१ गते मन्त्रीको रूपमा दोस्रोपटक शपथ लिएका थिए । सांसद नभएको व्यक्ति ६ महिनाभन्दा लामो समय मन्त्री बन्न नमिल्ने संवैधानिक व्यवस्था अनुसार खतिवडाले राजीनामा गरेका हुन् ।

दिउँसो बसेको मन्त्रिपरिषद् बैठकमा खतिवडाले आफूले गरेका कामबारे जानकारी सहित बिदाइ मन्तव्य दिएका थिए । नेकपा सचिवालयको बिहीवारको बैठकले राष्ट्रिय सभामा रिक्त स्थानमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको थियो ।
खतिवडाको राजीनामासँगै अर्थ र सञ्चार मन्त्रालय रिक्त भएको छ । गोकुल बाँस्कोटाले राजीनामा गरेपछि सरकारको प्रवक्ताको भूमिका पनि खतिवडाले निभाएका थिए ।
प्रकाशित मिति : 18:18









