५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना, अान्तरिक रक्तस्राव रोकिएन

२० जेठ, काठमाडाैँ । राष्ट्रकवि माधवप्रसाद घिमिरे पुनः अस्पतालमा भर्ना हुनुभएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराई शनिबार स्वेदश फर्कनु भएका उहाँ शनिबार रातिदेखि पुनः अस्वस्थ्य भएपछि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आज बिहान भर्ना हुनुभएको हो ।

राष्ट्रकवि घिमिरेललाई पुनः सानो आन्द्राबाट रक्तस्राव भएपछि अस्पतालमा भर्ना गरिएको उहाँको उपचारमा संलग्न चिकित्सक डा विवेक शर्माले जानकारी दिनुभयो । “शनिबार साँझदेखि उहाँको फेरि सानो आन्द्राबाट रक्तस्राव भयो”–उहाँले भन्नुभयो, “उहाँको जुन समस्या थियो, त्यसमा सुधार भएको देखिएन, अनि बिहान उहाँलाई अस्पतालमा भर्ना गरेर उपचार गरिरहेका छौँ ।”

ग्राण्डी अस्पतालसँग आन्तरिक रक्तस्राव रोक्ने उपचार पद्धति नभएकाले उहाँलाई अन्यत्र लैजान सुझाव दिइएको डा शर्माले बताउनुभयो ।अहिले राष्ट्रकवि घिमिरेको ग्राण्डीस्थित उच्च हेरविचार इकाई (हाइकेयर युनिट) मा उपचार भइरहेको छ ।

उहाँ १० दिनको उपचारपश्चात भारतबाट शनिबार मात्र स्वदेश फर्कनु भएको थियो । उहाँलाई उपचारका लागि यही जेठ ९ गते भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लगिएको थियो । राष्ट्रकवि घिमिरे करिब चार महिनादेखि अस्वस्थ रहँदै आउनुभएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७५, आईतवार १९:०८