५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

वीर अस्पतालमा २ अर्बको भ्रष्टाचार, उपकुलपति गुरुङ र निर्देशक बस्नेतसहित पियन धिताल छानविनमा

२० जेठ, काठमाडौँ । वीर अस्पतालमा भएकोे २ अर्ब बढीको भ्रष्टाचार प्रकरण सार्वजनिक भएको छ । अस्पतालका नाममा धुर्मुससुन्तली फाण्डेसनले चन्दा संकलन गरेको विषय सेलाउन नपाउँदै २ अर्बको भ्रष्टाचार सार्वजनिक भएको छ । वीरको भ्रष्टाचारमा अनुसन्धान गरी कारबाहीको माग गर्दै कर्मचारीहरु नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ढोका ढक्ढक्याउन पुगेका छन ।

यसअघि महालेखा परीक्षकको प्रतिवेदनले समेत वीर अस्पताल ठूलो अनियमितता भएको देखाएको थियो । वीरको भ्रष्टाचारमा न्याम्सका उपकुलपति डा गणेश गुरुङ, वीरका निर्देशक डा भुपेन्द्र बस्नेत र पियन नवराज धिताल छानविनको दायरामा तानिएका छन । त्यस्तै वीर अस्पतालको खरिद शाखाकी प्रमुख भगवती थपलिया, पटक–पटक बिभिन्न प्रकरणमा जेल परेका सेवा आयोग सचिव कर्मचारी लक्ष्मण अर्याल समेत छानविनमा परेका छन ।

यसअघि धुर्मुससुन्तली फाउण्डेसनको बचाउमा स्वास्थ्यमन्त्रालयले वीर अस्पतालमा गरेका पत्रकार सम्मेलनमा समेत वीरका निर्देशक र न्याम्सका उपकुलमाथि २ अर्ब भ्रष्टाचार गरेको भन्दै पत्रकारले प्रश्न गरेका थिए ।

अख्तियारमा परेकाे उजुरीको व्यहोरा

वीर अस्पतालको अनियमितता छानविन होस्
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौं

उपरोक्त सम्बन्धमा वीर अस्पतालमा २०६३ सालमा ऐनद्वारा स्थापित स्वायत्त संस्था हो । यो आफ्नै ऐन र नियमद्वारा सञ्चालित छ । प्रतिष्ठानलाई आवश्यक पर्ने कर्मचारी प्रतिष्ठान सेवा आयोगद्वारा पदपूर्ति हुने व्यवस्था छ । सेवा आयोगले विगतमा गरेका केही विज्ञापन र नियुक्तिमा प्रतिष्ठान पदाधिकारी र सेवा आयोग पदाधिकारीको मिलेमतोमा प्रतिस्पर्धीहरूसँग पैसा लिई परिक्षार्थी पास गरेको र अयोग्य कर्मचारीलाई लिएको हामीलाई पूर्ण विश्वास छ । तसर्थ, निजहरूको उत्तर पुस्तिाका अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धान/जाँच गरेमा सत्यतथ्य पत्ता लाग्नेछ । साथै विगत २ वर्षमा वीर अस्पतालमा भएको अर्बौं रुपैयाँका खरिद, कोटेशन, टेण्डरलगायतमा समेत छानविन गरि पाउँ ।

अख्तियारले तत्कालै छानविन गर्नुपर्ने विषयः
१. ०७३/०७४ को खरिद विक्री टेण्डर सम्बन्धि फाइलहरू

२. आर्थिक वर्ष २०७४/०७५ को खरिद विक्री टेण्डर सम्बन्धि फाइलहरू ।

३. २०७२ सालमा यस प्रतिष्ठान सेवा आयोगले लिएको करार सेवाको स्टाफ नर्स, ल्याव टेक्निसियन, ल्याव एसिस्टेन्ट पदको उत्तर पुस्तिकाहरू आफू निकट व्यक्तिहरूको प्रतिव्यक्ति रु पाँच लाख लिई उपकुलपति, डिन, सेवा आयोग पदाधिकारी, सेवा आयोग सचिवको मिलेमतोमा लिखित परीक्षाको उत्तर पुस्तिका परिवर्तन गरी पास गराएको र मौखिक परीक्षामा पनि पास गराई करार नियुक्ति दिई काममा लगाई राखेको ।

४. २०७४ सालमा हालै टेण्डर भएको टेमो रेडियो थेरापी र सिटी स्क्यान मेसिनमा निम्नतम मूल्य कबोल गर्नेलाई नदिईकन अधिकतम मूल्यलाई टेण्डर स्वीकृत गरी ३० करोड अनियमितता गरेको ।

५. २०७२ सालमा गएको महाभूकम्पको समयमा खरिद भएको औषधिजन्य पदार्थको खरिद गर्दा उपकुलपति गुरुङले आफू निकट व्यापरीहरूसँग बजारभाउ भन्दा निकै महंगोमा औषधि खरिद गरी कमिसन खाएको र सो खरिदमा उनी निकट विष्णु फुयाललाई सम्पूर्ण सामान खरिद गर्न लगाएको सम्बन्धमा ।

६. Coblct खरिद सम्बन्धमा ।

७.टेण्डर गर्दा उपकुलपति, डिन, निर्देशकको मिलेमतोमा आफू निकटलाई मिल्ने स्पेसिफिकेसन बनाउने र आफू निकटलाई पार्ने । टेण्डर पारिसकेपछि क्वालिटी र क्वान्टिटी कम भएको सामान मगाई कमिसन खाने । टेण्डरमा उल्लेख भएको सामान नमगाई बजारबाट खरिद गरी त्यहाँबाट पनि कमिसन खाने ।

८. डिन योहन चन्द्र शिवाकोटीले शैक्षिक वर्ष २०७२/०७३ र २०७३/०७४, ७४ /०७५ मा एमडी एमएस र नर्सिङ प्रवेश परीक्षामा एमडी एमएसमा प्रति विद्यार्थी ३० लाख र नर्सिङमा प्रति विद्यार्थी पाँच लाख लिई नाम निकाल्ने गरेको सुनेका छौं, सो सम्बन्धमा परीक्षा शाखाको सम्पूर्ण फाइलहरू छानविन गर्नुपर्ने ।

९ प्रतिष्ठानमा कार्यरत निम्निलिखित कर्मचारीहरू प्रतिष्ठानको सहमति वेगर कार्यालय समयमा बाहिर काम गरिरहेका हुँदा राजेश चौधरी, डा. सन्तोष पौडेल, डा. भोजराज अधिकारी, डा. धु्रव अधिकारी, डा. अनिल बराल(नेप्रोलोजी)लगायत माथि हाजिर छानविन गरियोस् ।

१०. अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले २०७० सालमा विस्तृत अध्ययन गरी कुनै पनि पदपूर्ति अस्थायी, करार, ज्यालादारी गर्नुपर्दा सेवा आयोगमार्फत गर्नु भन्ने पटक–पटक दिएको निर्देशन विपरीत उपकुलपति गणेश गुरुङको मिलेमतोमा शाखा अधिकृतदेखि पियनसम्म ३०० जना कर्मचारी मनपरी नियुक्त गरि आर्थिक र प्रशासनिक अख्तियारको दुरुपयोग गरिएको छ ।

११. वीर अस्पतालमा अख्तियारलगायतको निर्देशन विपरीत आफू निकट कर्मचारीका छोराछोरी, बुहारी र श्रीमतीलाई शाखा अधिकृतदेखि कार्यालय सहयोगीसम्मका पदमा नियम विपरीत नियुक्ति दिएर काममा लगाइरहेका छन् । सेवा आयोगका सचिव लक्ष्मण अर्यालले छोरा रोजनलाई प्रतिष्ठानको गोप्य र महत्वपूर्ण शाखा परीक्षा शाखामा अधिकृत तहमा नियुक्ति दिई काममा लगाइरहेका छन् ।

१२. कार्यालय सहयोगी नवराज धिताल कर्मचारी भएर अस्पताल कम्पाउण्डभित्र पसल सञ्चालन गरी अस्पतामा काम नगरी व्यापार व्यवसायी गरिरहेका छन् ।

१३. आर्थिक वर्ष २०७३/०७४ मा वीर अस्पतालमा भएको रङ रोगन, पार्टेसन, उपकरण खरिदलगायत टेण्डरहरूमा उपकुलपति गुरुङ, डिन शिबाकोटी, सेवा आयोग सचिव अर्याल, का.स. धिताल, अहेव तिवारीलगायतयको समूहले एक अर्वभन्दा बढीको आर्थिक हिनामिना गरेको हुँदा निजहरूमाथि छानविन गरी कडा भन्दा कडा कारबाही गरियोस् ।

–निवेदक : वीर अस्पतालमा, कार्यरत कर्मचारीहरू

प्रकाशित मिति : २० जेष्ठ २०७५, आईतवार १४:४४