१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णय

१५ भदौ, काठमाडौँ । सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका काममा आवश्यक समन्वय र अनुगमनका निम्ति जनप्रतिनिधिहरुसँग अनुरोध गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई महाव्याधी नियन्त्रणमा समन्वय गर्न अनुरोध गर्ने निर्णय गरेको हो । साथै बैठकले सङ्क्रामक रोग ऐन, २०२० अनुसार गत साउन ४ गतेको जनस्वास्थ्य तथा सुरक्षा पालना गर्ने गरी ‘भदौ १६ गतेदेखि सेवा तथा कार्य सञ्चालन गर्ने’ निर्णय परिमार्जन गर्दै त्यसलाई ‘असोज १ गतेदेखि’ हुने निर्णय गरेको छ ।

यसैगरी बैठकले संयुक्त राष्ट्रसंघको ७५ औं महासभामा भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्माओलीको नेतृत्वमा १० सदस्यीय प्रतिनिधिमण्डलले सहभागिता जनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा परराष्ट्र मन्त्रीसहित १० सदस्यीय प्रतिनिधिमण्डल गठन गरी सोही बमोजिमको क्रेडेन्सियल्स महासभाको औपचारिक प्रयोजनका लागि पठाउने निर्णय गरेको हो ।

महासभा अन्तर्गत उच्चस्तरीय सप्ताहका बैठकहरुमा भर्चुअल माध्यमबाट प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलले काठमाडौंबाट र अमेरिकाका लागि नेपाली राजदूत, राष्टसंघका लागि नेपालका स्थायी प्रतिनिधि र स्थायी नियोगका कर्मचारीले सहभागिता जनाउने सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयाे ।

यस्तै सम्बन्धित श्रम गन्तब्य मुलुकसँगको सम्झौता र मागका आधारमा नयाँ श्रम स्वीकृति खुला गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय व्यावसायिक तथा अन्य उडानबारे पनि सामान्य संशोधन गर्दै दैनिक ५०० यात्री ल्याउन पाउने व्यवस्थालाई ८०० पुर्याइएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले आज सञ्चारकर्मीहरूलाई बताउनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “नेपाल आउनपर्ने अवस्थाका गैरआवासीय नेपालीलाई सम्बन्धित देशस्थित नेपालको कूटनीतिक नियोगको सिफारिसमा नेपाल आउन दिइनेछ ।”

नेपालमा अध्ययन गर्ने र परीक्षामा सामेल हुनुपर्ने विदेशी विद्यार्थीलाई कोरोना जिवाणुुबाट सङ्क्रमण नभएको ७२ घण्टाभित्रको प्रमाणपत्र र सम्बन्धित शिक्षण संस्थामा भर्ना भएको प्रमाणका आधारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपाल सरकारले जारी गरेका स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्ने शर्तमा नेपाल आउन अनुमति दिने निर्णय सरकारले गरेको उहाँले जानकारी दिनुभयो ।

यस्तै सरकारले नेपाल मेडिकल काउन्सिललाई जनस्वास्थ्य र सुरक्षाका सबै मापदण्ड पालना गर्ने शर्तमा चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालनको अनुमति दिने निर्णय गरेको छ भने त्यस निम्ति आवागमनलगात सुरक्षाको व्यवस्था स्थानीय प्रशासनले मिलाउने उहाँले बताउनुभयो ।

यसैगरी, सरकारले कोरोनाका कारण स्थगित परीक्षा भदौ महिनाभरी सञ्चालन गर्न नपाइने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन असोज १  बाट मात्रै गर्न दिने निर्णय गरेको छ । यसअघि ५ साउनमा १ भदौबाट र २६ साउनमा १६ भदौबाट परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको थियो । कोभिड-१९ संक्रमित र मृतकको संख्या बढ्दै गएपछि सरकारले विद्यार्थी भर्ना गर्ने मिति सारेको हो ।

यस्तै सरकारले सबै प्रदेश र स्थानीय तहले जोखिम विश्लेषणको आधारमा प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्र र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेशन बेड तयार पार्न भनेको छ । मन्त्रिपरिषदको बैठकले उपत्यकामा संक्रमणको अवस्था अनुसार स्वास्थ्य मन्त्रालय तथा वाग्मती प्रदेशले अस्पताल, स्वास्थ्य केन्द्रमा आवश्यक अनुसार आइशोलेशन स्थल तयार पार्न आग्रह गरेको छ ।

ती आइसोलेशन स्थलको सुरक्षा नेपाली सेनाले गर्ने गर्ने पनि निर्णय गरेको छ । यस्तै एउटा हलमा २५ जना रहनेगरी नेपाल मेडिकल काउन्सिललाई परीक्षा सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।

यसैगरी बैठकले बराइनका राजकुमारलाई नेपालको हिमाल चढ्नका लागि आउन दिने निर्णय गरेको छ । बैठकले स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नेगरी चार्टर फ्लाइटबाट नेपाल आउन दिने निर्णय गरेको हो । आगामी सेप्टेम्बर १५ पछि बराइनका राजकुमारसहित १५ बहराइनी र ३ जना ब्रिटिश गरी १८ जनाको टोली नेपालको लोबुचे र मनास्लु हिमाल चढ्न आउन लागेको बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिनुभयाे ।

यस्तै बैठकले अन्तरजिल्ला तथा लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चलनमा ल्याउने निर्णय गरेको छ । बैठकले यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेकाे भएपनि कोरोनाको जोखिम बढेकाले असोज १ गतेसम्मका लागि सारिएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयाे । यस्तै सरकारले आन्तरिक हवाइ उडान पनि असोज १ देखि नै सञ्चालनमा ल्याउने निर्णय गरेकाे प्रवक्ता खतिवडाले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : 19:25