५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

३७ वर्षीय ईश्वर थापाको हत्या गर्ने दुई अभियुक्त पक्राउ

१८ जेठ, बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११, धनेश्वरका ३७ वर्षीय ईश्वर थापाको हत्यामा संलग्न दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

गत सोमबार राति सोही ठाउँमा बस्दै आएका थापालाई हातखुट्टा भाँचिएको अवस्थामा प्रहरीले टहरा छेउमा नै मृतावस्थामा फेला पारेको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले साविक सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाविस–३ का १८ वर्षीय लक्ष्मण भनिने वसन्त खड्का र बनेपा नगरपालिका–४ का २२ वर्षीय राजु सिग्देललाई आज सार्वजनिक गरेको छ । उनीहरुलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले बताए ।

थापाले आफ्नी आमालाई पटक पटक कुटपिट तथा विवाह गर्छु भन्दै मानसिक र शारीरिक यातना दिएका कारण आफूले सहन नसकी प्रतिकार गर्नुपरेको खड्काले बताए । घटना भएको दिन पनि आमालाई चोटपटक हुने गरी कुटपिट गरी नागरिकता र लालपुर्जालगायत अन्य कागजात लिएर गएको र ती कागजात लिन भनी जाँदा पिट्न खोजेका कारण टहरा नजिक भेटेको बाँसको लठ्ठी र रडले हानेको बताए ।

थापाले मादक पदार्थ सेवन गरी पटक पटक कोठामा गई गाली बेइज्जती गरी कुटपिट गरेको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक शाहले जानकारी दिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार २०:३५