प्रधानमन्त्री ओलीसँग छलफल गर्न सभापति देउवा बालुवाटारमा
१ भदाै, काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि बोलाएपछि देउवा बालुवाटार पुगेका हुन्। नेकपाको सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री ओलीले सभापति देउवासँग भेट गरेका हुन्। भेटमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा कांग्रेस नेता रमेश लेखक पनि सहभागी छन्।
संवैधानिक अंगहरूमा रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा उनीहरुबीच छलफल भइरहेको बताइएको छ। कोरोनाको महामारीपछि प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दलका नेता देउवाबीच यसअघि पनि विभिन्न समयमा छलफल भएको छ।

हाल १३ संवैधानिक आयोगमध्ये १० वटामा ३९ पद रिक्त रहेको अवस्था छ । मधेसी, थारू र मुस्लिम आयोगमा अध्यक्ष मात्र नियुक्त गरिएको छ । यी तीनै आयोगमा चार–चार जना सदस्य रिक्त छन् । यस्तै समावेशी आयोग अध्यक्ष शान्तराज सुवेदीले राजीनामा दिएपछि पदाधिकारीविहीन अवस्थामा छ ।
यसैगरी महिला, दलित र आदिवासी जनजाति आयोगमा अध्यक्ष नियुक्त हुन सकेको छैन । यी आयोगमा अध्यक्षसहित अन्य चार–चार जना सदस्य रहने संवैधानिक व्यवस्था छ । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्त पद रिक्त छ । दीप बस्न्यातको कार्यकाल समाप्त भएपछि आयुक्त नविन घिमिरे प्रमुख आयुक्त भएका थिए । उनको कार्यकाल पनि सकिँदै छ । अर्का आयुक्त राजनारायण पाठक घुसकाण्डमा परेपछि राजीनामा दिएका थिए ।
यस्तै, निर्वाचन आयोगमा आयुक्तहरू इला शर्मा र सुधीर शाहको कार्यकाल सकिएपछि रिक्त पदमा नियुक्ति भएको छैन । यस्तै प्राकृतिक वित्त आयोगमा बालानन्द पौडेल अध्यक्ष नियुक्त भए पनि अन्य चार सदस्य पद रिक्त छ ।
प्रकाशित मिति : 12:35









