२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

मालपोत कार्यालय चितवनका नायव सुब्बा मनोज निरौला घुस लिएको अभियोगमा पक्राउ

१७ जेठ, चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चितवनका नासु मनोज निरौला र कार्यालय सहयोगी शंकरप्रसाद धिताललाई २५ हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

लालपुर्जा र जग्गाको क्षेत्रफल मिलान गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा आयोग, हेटौंडाको टोलीले नियन्त्रणमा लिएको छ ।

यसैबीच आयोगले जिल्ला समन्वय समिति सप्तरीका नासु युगेश्वरप्रसाद यादव र लेखापाल श्यामसुन्दर यादवविरुद्ध बिगो रु एक लाख ३५ हजार र सोही बराबर जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

महुली खोला पुल निर्माणको फरफारक भएपछि धरौटी फुकुवाको चेक निकासा गर्ने प्रयोजनका लागि यादवले सेवाग्राहीसँग १ लाख ३५ हजार घुस लिएको अभियोगमा नियन्त्रणमा लिई अनुसन्धान हुँदा लेखापाल श्यामसुन्दरसँग आपसी मिलेमतोमा उक्त कार्य गरेको खुल्न आएकाले उनीहरूविरुद्ध आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७५, बिहीबार १९:२७