३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

धर्ती रक्षक पाइलट महासेनानी गुरुङको सम्झना

काठमाडौं । खाद्यन्न लिएर सुर्खतबाट हुम्ला जाने क्रममा बाजुराको कोल्टीमा जहाज दुर्घटनामा परि निधन भएका नेपाली सेनाका धर्ती रक्षक पाइलट महासेनानी कैलाश गुरुङको निधन भएको वर्षदिनको सन्दर्भमा सैनिक मुख्यालय भद्रकालीमा श्रद्धान्जलीसभा तथा स्मृति ग्रन्थको विमोचन गरिएको छ ।

दुर्गम र विकट ठाउँका जनताको सेवामा खटिएका नेपाली सेनाका महासेनानी गुरुङको तस्विरमा रक्षा मन्त्री ईश्वर पोखरेलले श्रद्धान्जली स्वरुप दीप प्रज्वलन गर्दै स्मृति ग्रन्थको विमोचन गर्नुभयो । उहाँले नेपाली सेनाको एउटा असल सदस्य, नेपाल आमाको असल सन्तान, एउटा परिवारको असल अभिभावक मात्रै नभै स्वर्गिय गुरुङ सवैको प्रेरणाको स्रोतको रुपमा बाँचिरहने बताउनुभयो ।

दुर्गममा खाद्यन्न, औषधी र विकास निर्माणका सामग्री ओसारेर ख्याति कमाएका र साहित्यिक छवि बनाएका बहुआयामिक व्यक्तित्वका धनी स्वर्गिय गुरुङको मृत्यु पहाड खसे जस्तो गरि प्रकट भएको भन्दै उहाँको उच्च सम्मान व्यक्त गर्नुभयो । रक्षामन्त्री पोखरेलले गुरुङको जिन्दगीले ऐना जस्तो गरि वास्तविकता प्रकट गरिरहेको भन्दै उहाँको वहुआयामिक व्यक्तित्वको खुलेर प्रसंम्सा गर्नुभयो ।

राजनीतिक परिवर्तन र नेतृत्वप्रति नेपाली सेनाले सद्धैव वफादारिताका कायम गरेको भन्दै उहाँले भन्नुभयो–‘नेपाली सेना देशको सार्वभौमसत्ता र अखण्डतासँग गासिएको संस्था हो जो आफ्नो कर्तव्यप्रति कहिल्यै डगमगाएको छैन ।’ मन्त्री पोखरेलले अवका दिनमा हरेकले नेपाल र नेपाली किन सम्पन्न र बैभवशाली हुन सकेनन् भनेर सोच्नुपर्ने वेला आएको बताउनुभयो । उहाँले त्यसका निम्ती कतिपय संरचनाका कुराहरु परिवर्तन गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । ‘हिजोका कतिपय नीति, विधि र संरचनाहरुबाट निर्देशित भएका हाम्रा व्यवहारहरु परिवर्तन गर्नुपर्ने जरुरी छ,’ उहाँको भनाई थियो–‘परिवर्तित सन्दर्भमा आर्थिक विकास र सम्वृद्धि कायम गरेर अगाडि बढ्नुपर्छ, यसलाई यथार्थमा परिणत गर्ने संकल्पका साथ अघि बढ्नुपर्छ ।’

कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पाइलट महासेनानी कैलाश गुरुङको निधनले नेपाली सेनालाई अपुरणीय क्षति पुगेको बताउनुभयो । सो अवसरमा स्वर्गिय गुरुङद्धारा लिखित कविताको बाचन कवि श्रवण मुकारुङले गर्नुभएको थियो । साथै उहाँमाथिको वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : May 31, 2018 at 2:03 pm