९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

छिमेकी मुलुकको अतिक्रमणकारी नीतिका कारण सीमामा समस्या देखियाेः गृहमन्त्री थापा

२८ साउन, काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापाले छिमेकी मुलुकहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण सीमामा समस्या देखिएको बताउनुभएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उपस्थित हुनुभएका गृहमन्त्री थापाले छिमेकिहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण नेपालको भूमि मिचिएको बताउनुभएको हो ।

सीमामा रहेका पिलरहरु उखेलेर फालिदिने, नेपल भित्र गाडिदिने प्रवृत्ति छिमेकीहरुको रहेको उहाँले बताउनुभयो । यो प्रवृति नहटदा सम्म सीमा समस्या रहिरहने पनि मन्त्री थापाले बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रा छिमेकीहरुको अतिक्रमणकारी नीति र चिन्तन पनि यसको कारणहरु छन् । पिलरहरु उखेलेर फाल्दिने अथवा नेपाल भित्र ल्याएर गाडने यस्ता अतिक्रमणकारी नीति पनि सीमा समस्याको पछाडी एउटा कारण देखिन्छ ।’

सीमा विवाद समस्या कुटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने गृह मन्त्री थापाले बताउनुभयो । यस्तै नेपालको भूभाग र सीमा रक्षा गर्ने जिम्मा गृह मन्त्रालयको भएकाले विशेष ध्यान दिने समेत उहाँले बताउनुभयो । सीमा सुरक्षाका लागि गृह मन्त्रालयले सीमा सुरक्षा सम्बन्धी विशेष योजना बनाएको र त्यसलाई कार्यान्वयन गर्ने चरणमा रहेको थापाले बताउनुभयो । उहाँले सीमा समस्या समाधानका लागि जनस्तरबाट समेत सहयोग हुनुपर्ने बताउनुभयो ।

सीमा नक्सा निर्धारण गर्ने सिद्धान्तमा नदीलाई आधार मान्ने प्रचलनका कारण पनि सीमामा धेरै समस्या आएको गृहमन्त्री थापाको भनाई छ । उहाँले नदीले धार परिवर्तन गर्दा सीमा समेत परिवर्तन हुने गरेको बताउनुभयो । सोही आधारमा स्ट्रीप नक्सा बनाउँदा नेपालको भूभाग भारतमा र भारतको भूभाग नेपालमा परेको पनि उहाँले बताउनुभयो । सीमा समस्या समाधानका लागि कुटनीतिक पहल अवस्यक रहेको बताउनुभयो ।

प्रकाशित मिति : August 12, 2020 at 5:11 pm