९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

कोरोना सङ्क्रमणलाई अवसरको रुपमा लिएर देश विकास गरौँः महामन्त्री कोइराला

२८ साउन, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणलाई अवसरको रुपमा लिएर देशको विकास गर्नुपर्ने बताउनुभएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेशनले काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८१ औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित ‘अन्वेषण यात्रा’ विषयक जुम कार्यक्रममा उहाँले कोभिड–१९ का कारण स्वदेश फर्केका युवालाई कृषि क्षेत्रमा लगाएर देशको विकास गर्नुपर्ने बताउनुभएको हो ।

“कोभिड–१९ लाई अवसरको रुपमा बदल्नका लागि स्वदेश फर्केका युवालाई कृषिमा जोडेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ”, उहाँले भन्नुभयो । काँग्रेसले मुलुकको सम्भावनालाई हेरेर विकासको खाका बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । महामन्त्री कोइरालाले वीपी कोइरालाले देखेको जनप्रतिनिधिद्वारा निर्माण गरिने संविधानको सपना स्व सुशील कोइराला नेतृत्वको सरकारले पूरा गरेको बताउँदै नैतिकताको राजनीतिमा विश्वास गर्ने सुशील कोइरालामा सादा जिवन, उच्च विचार रहेको थियो भन्नुभयो ।

फाउण्डेशनका अध्यक्षसमेत रहनुभएका महामन्त्री कोइरालाले व्यक्तिभन्दा पार्टीलाई प्राथमिकतामा राख्ने स्व कोइराला भ्रष्टाचारविरोधी नेताका रुपमा आफूलाई स्थापित गर्नुभएको बताउनुभयो । कार्यक्रममा प्राडा जयराज आचार्यले मूल्य, मान्यता र सिद्धान्तको राजनीतिमा विश्वास गर्ने स्व कोइराला सरल र सादगी नेता भएको उल्लेख गर्दै वीपी कोइरालाले देखाएको बाटोलाई सधै पछ्याउने स्व कोइरालाले संविधान निर्माण गरेर वीपीको सपनालाई पूरा गरेको बताउनुभयो ।

पछिल्लो समय काँग्रेसभित्र मूल्य मान्यता र सिद्धान्त हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले पार्टीभित्र सिद्धान्तभन्दा पनि पैसा भएका व्यक्ति हावी हुँदै गएको धारणा व्यक्त गर्र्नुभयो । फाउण्डेशनका सदस्य–सचिव अतुल कोइरालाले फाउण्डेशनले आगामी दिनमा ‘अन्वेषण यात्रा’लाई निरन्तर रुपमा अगाडि बढाउने जानकारी दिनुभयो ।

प्रकाशित मिति : August 12, 2020 at 1:59 pm