९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गरौँः मुख्यमन्त्री पोखरेल

२८ साउन, रुपन्देही । प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले कुनैपनि जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गर्न आग्रह गर्नुभएको छ । विजयोत्सवको रुपमा मनाइँदै आएको पाल्पाको रणउजीरेश्वरी भगवती जात्राका अवसरमा आज शुभकामना दिंदै उहाँले भगवती जात्रा मनाउँदा यस वर्ष विगतमा भन्दा फरक ढङ्गले सामाजिक दूरी कायम गरी मनाउन अपिल गर्नुभयो । “जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गरी मनाऔं, आफू पनि जोगिऔं, अरुलाई पनि जोगाऔं । कोरोनाविरुद्धको अभियानलाई सार्थक बनाऔं”, शुभकामना सन्देशमा भनिएको छ, “कोभिड—१९ को महामारीलाई जितेपछि भगवती जात्रालाई हामीले विगतमा झै ठूलो जनसहभागितामा भव्य ढङ्गले मनाउने नै छौँ ।”

पाल्पामा मनाइँदैँ आएको भगवती जात्राले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको बाटोमा हिंड्न प्रेरित गरेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले पुर्खाको देशभक्तिको गौरवपूर्ण लडाइँलाई सम्झदै सत्मार्गमा हिँडेर मुलुकको सार्वभौमसत्ताको रक्षा गर्दै अविचलित रुपमा अघि बढ्न आग्रह गर्नुभयो । “भगवती जात्रा पुर्खाले राष्ट्रिय स्वाधीनताका लागि लडेको गौरवपूर्ण इतिहास सम्झाउने उत्सव हो । दुई शताब्दीदेखि निरन्तर चलिरहेको जात्राले नयाँ पुस्ताका लागि पुर्खाको वीरता–धीरता गाथाको स्मरण गराउँछ”, मुख्यमन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ ।

विसं १८७१/७२ को नेपाल/अङ्ग्रेज युद्धका क्रममा नेपाली सेनाका अमर योद्धा उजिरसिंह थापाको नेतृत्वमा जीतगढीमा विजय हासिल गरिएको चर्चा गर्दै मुख्यमन्त्री पोखरेलले जीतगढीको लडाइँ मोर्चामा आफ्नो पराक्रम साहस र रणकौशलका साथ पाल्पा हुँदै अन्ततः नेपाल कब्जा गर्ने अङ्ग्रेजको योजनालाई उनले विफल बनाइदिएको बताउनुभएको छ ।

मुख्यमन्त्री पोखरेलले अङ्ग्रेज फौजलाई परास्त गरी विजय हासिल गर्ने कर्णेल उजिरसिंहसहित सबै योद्धाप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ । “कर्णेल उजिरसिंहकै अदम्य साहस र सफलताको खुशीयालीमा विसं १८७७ देखि पाल्पामा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन भगवती रथयात्राको आयोजना गरिँदै आएको छ । जात्रालाई निरन्तर रुपमा आयोजना गर्न खट्ने सबैप्रति पनि सम्मान व्यक्त गर्दछु” शुभकामना सन्देशमा भनिएको छ । यस वर्षदेखि प्रदेश सरकारले भगवती जात्राको दिन पाल्पामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : August 12, 2020 at 12:38 pm