९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

भारतमा कोभिड–१९ समाप्त नहुञ्जेल नेपालमा जोखिम रहन्छः मन्त्री ढकाल

२७ साउन, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भारतमा कोभिड–१९ समाप्त नभएसम्म नेपालमा पनि जोखिम रहिरहने बताउनुभएको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उहाँले भारतसँग खुला सिमाना भएका कारणले त्यहाँ कोभिड–१९ समाप्त नभएसम्म नेपालमा पनि जोखिम बढिरहने जानकारी दिनुभयो । उहाँले बन्दाबन्दी (लकडाउन) खुलेसँगै मानिसले स्वास्थ्यका न्यूनतम मापदण्ड लागू नगर्दा कोभिड–१९ को सङ्क्रमण बढेको बताउनुभयो ।

उहाँले सरकारले प्रभावकारी कदम चालेको कारणले अन्य देशभन्दा नेपालमा सङ्क्रमितको सङ्ख्या तथा मृत्युदर पनि कम रहेको उल्लेख गर्नुभयो । “मन्त्रालयले प्रक्षेपण गरेअनुसार यही साउन २५ गतेसम्म खराब अवस्थामा ९१ र अगामी भदौ २ गतेसम्म मध्यम अवस्थामा ३९ हजार पुग्ने अनुमान गरिएको थियो”, उहाँले भन्नुभयो, “तर सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाममा खेलेको भूमिका र स्वास्थ्यकर्मीको प्रयासका बाबजुद हामीले त्यो अनुमान गरेको सङ्ख्याभन्दा कम नै सङ्क्रमित रहेका छन् ।”

मन्त्री ढकालले पहिले देखिएका स्थानमा पुनः सङ्क्रमित देखिन थालेको जनाउँदै लक्षण नदेखिएका सङ्क्रमितलाई चिकित्सकको निगरानीमा घरमै रहेको आइसोलेसनमा राखिने जानकारी दिनुभयो । “अरू देशमा सङ्क्रमित भएको ठाउँमा फेरि भयाभह रुपमा सङ्क्रमित देखिएका छैनन् तर यहाँ भने पहिले सङ्क्रमित देखिएका ठाउँमा फेरि पनि सङ्क्रमित देखिन थालेका छन्”, उहाँले भन्नुभयो, “वीरगञ्ज, बाँके, उदयपुर, कैलालीजस्ता ठाउँमा फेरि पनि सङ्क्रमित देखिन थालेका छन् । त्यसैले अझ सतर्कता अपनाउन आवश्यक रहेको छ ।”

उहाँले सरकारले कोभिड–१९ नियन्त्रण गर्न सक्दो प्रयास गरिरहेको भन्दै जथाभावी आलोचना नगर्न आग्रह गर्नुभयो । “हामीले अहिलेसम्म जे जे उपाय अपनाएर नियन्त्रण र रोकथाम गर्न सकिन्छ । त्यो सबै गरेका छाँै । अहिलेसम्म हामीले गरेको उपाय भएको छैन भने सुझाव गर्नुहोस”, उहाँले भन्नुभयो, “हामीलाई त्यो सुझाव राम्रो लाग्यो भने रोकथाममा सहयोग पुर्याउने छ । तर अनावश्यक आलोचना नगर्नुहोस् ।”
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालको सेवालाई अझ प्रभावकारीरुपमा लैजानुपर्ने सुझाव दिनुभयो । मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेल र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह लगायतले अस्पतालले सेवालाई अझ छिटोछरितो बनाउनुपर्ने बताउनुभयो ।

अस्पतालका निर्देशक डा सङ्गीता कौशल मिश्राले अस्पतालको सेवा अझ विस्तार गर्न लागेको जानकारी दिनुभयो । उहाँले संविधानले नै स्वास्थ्य सेवालाई निःशुल्क प्राप्त गर्ने हक सुनिश्चित गरेको हुनाले गरिब, असहाय, विपन्नलाई आर्थिक अभावका कारण हुनै पनि बिरामी उपचार गर्नबाट वञ्चित हुन दिनेछैन भन्नुभयो ।  विसं २०१६ मा स्थापना भएको ४० श्ययाबाट अस्पतालमा अहिले ४१५ श्यया रहेका छन् ।

अस्पतालमा अहिले प्रसूति रोगसम्बन्धी सबै उपचार, आमा सुरक्षा, नवजात शिशु उपचार कार्यक्रम, परिवार नियोजन तथा सुरक्षित गर्भपतन, निःसन्तान तथा बाँझोपन, क्यान्सर तथा युरो गाइनोकोलोजीका सेवा प्रदान गर्दै आइरहेको छ । गत आर्थिक वर्ष ०७६/७७ मा ११ लाख १९ हजार ६२५ जनाको बहिरङ्ग सेवा, २२ हजार ४६१ गर्भवतीलाई सुत्केरी र १० हजार ९७७ जना शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

पिसिआर मेसिन जडान

सोही अवसरमा काठमाडाैँ महानगरपालिकाले अस्पताललाई उपलब्ध गराएको पिसिआर मेसिन जडान गरिएको छ । महानगरपालिकाका प्रमुख डा शाक्यले उक्त पिसिआर मेसिनको आजै उद्घाटन गर्नुभयो । अस्पतालका निर्देशक डा मिश्राले भर्ना भएका र गर्भवतीलाई कोभिड–१० परीक्षण गर्न सजिलो हुने बताउनुभयो । महानगरपालिकाले मेसिन र अस्पतालले कोभिड–१९ परीक्षण गर्नका लागि किटको व्यस्थापन गर्नेछ ।

प्रकाशित मिति : August 11, 2020 at 3:35 pm