५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

घर सफा राख्ने चितवन पदमपुरका साने परियार सम्मानित

–शिशिर सिंखडा
१६ जेठ, काठमाडौँ । चितवनको कालिका नगरपालिका वडा नं. ४ पदमपुरका साने परियारले आफ्नो घर सफा सुग्घर राखेकोमा पुरस्कृत भएका छन् । वडामै सफा घर भएकोले नमूना घरको रुपमा उनलाई आज पदमपुरमा आयोजित कार्यक्रममा नगद सहित सम्मान गरिएको हो ।

पूर्ण सरसफाई, वातावरणमैत्री एवम् फोहोर व्यवस्थापन सम्बन्धि २ दिने तालिम समापनको अवसरमा आयोजित कार्यक्रममा परियार सम्मानित भएका हुन् । वडाका ७ वटा टोल विकास संस्था, स्थानीय संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागीता रहेको २ दिने तालिममा ६५ जनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा प्रशिक्षकहरु कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज सुवेदी, वातावरण अभियन्ताहरु नारायण प्रसाद दवाडी, यमनाथ आचार्य, बिरेन्द्र पौडेलले सहजीकरण गरेका थिए । तालिममा व्यक्तिगत सरसफाई, घर, समाज सरसफाई, वृक्षारोपण लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

कालिका नगरपालिका वडा नं. ४ को आयोजना तथा लेट्स डु इट नेपालको समन्वयमा कार्यक्रम भएको थियो । वडा अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वडा नं. १ वडा अध्यक्ष लिला बहादुर गुरुङ्ग, वडा नं. ५ का वडा अध्यक्ष जियन महतो, लेट्स डु इट नेपालका अध्यक्ष दुर्गा आचार्य, कार्यक्रम संयोजक बल बहादुर श्रेष्ठ, पिपरीया टोल विकास संस्थाका देवीलाल कंडेल, प्रतिवेदक तिला देवी तमाङले मन्तव्य व्यक्त गरेका थिए ।

तालिममा सहभागीहरुले स्थानीय पदमपुर बजारको सरसफाई गर्दै प्रत्येक शनिबार बिहान टोल विकास संस्थाको समन्वयमा वडाका सबै स्थानमा सरसफाई गर्ने प्रतिवद्धता व्यक्त गर्दै हस्ताक्षर समेत गरेका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७५, बुधबार १८:१२