१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

जसपाले प्रधानमन्त्री ओलीबारे गरेकाे टिप्पणी अशिष्ट र पूर्वाग्रहीः सल्लाहकार थापा

२७ साउन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीबारे जनता समाजवादी पार्टीले अशिष्ट र पूर्वाग्रही टिप्पणी गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले खेद प्रकट गरेको छ । प्रधानमन्त्रीको सचिवालयले त्यसलाई कुण्ठाग्रस्त गालीगलोज र दिवालियापन भन्दै निन्दा गरेको छ ।

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि यही साउन २५ गते जारी विज्ञप्तिमा ‘प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ र ‘देशभित्र विभाजनको बीउ रोप्ने कार्य’ गरेको उल्लेख गरेकाे थियाे ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले  मंगलबार बिहान प्रेस नोट जारी गर्दै जनता समाजवादी पार्टीको विज्ञप्तिमा प्रधानमन्त्रीप्रति प्रयोग गरिएको भाषा निन्दनीय भएको उल्लेख गरेका छन् । थापाले जारी गरेकाे प्रेस नोटमा लेखिएको छ, ‘पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत जिम्मेदारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलोज मात्र हो र सोचको दिवालियापन नै हो ।’

‘राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ । त्यसै आधारमा यस स्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ ? सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर होला  विज्ञप्तिमा लेखिएको छ, ।’

निहीत स्वार्थ पूरा गर्न ओलीलाई बाधक देख्नेहरूले विगत छ दशकयता यसो गर्दै आएको र यो कुनै नौलो कुरा नभएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा लेखिएको छ, ‘त्यस्ता तत्वहरू इतिहासको गर्तमा सीमित भइसकेका छन् । अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले कोही कसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर छ । शीशाको घरमा बसेर ढुंगा हान्नेहरू आफैं असुरक्षित र पतन हुनु अनिवार्य छ ।’

यस्ताे छ प्रेस विज्ञप्तिः

प्रेस नाेट
‘जनता समाजवादी पार्टी नेपाल’ले हालै जारी गरेकाे विज्ञप्तिकाे एक अंशप्रति गंभीर ध्यानाकर्षण भएकाे छ । सम्माननीय प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा रहेकाे “…केपी ओली सरकारकाे कुनै ठाेस कार्ययाेजना नरहेकाे र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजाेर रहेकाे…” भन्ने टिप्पणी अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक छ ।

पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीकाे समेत ज़िम्मेदारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरकाे तरिका खासमा कुण्ठाग्रस्त गालीगलाेज मात्र हो र सोचको दिवालियापन नै हाे । राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ । त्यसै आधारमा यस स्तरकाे अपसंस्कारकाे प्रदर्शनबाट कहाँ पुगिन्छ ? सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर हाेला ।

सिद्धान्त, नीति र कार्यक्रममा बहस गर्न नसक्ने निरूपाय व्यक्तिहरू नै आफ्नाे स्वार्थका राेटी सेक्न नपाउँदा ऑंखा चिम्लेर अँध्याराे देख्छन् र उज्यालाेकाे भर्त्सनामा जुट्छन् । जहाँसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई आलाेचना, विराेध र गालीगलाेज गरिएकाे सन्दर्भ हाे, याे कुनै नाैलाे कुरा हाेइन । आफ्नाे निहीत स्वार्थ पूरा गर्न उहाँलाई बाधक देख्नेहरूले विगत छ दशकयता यसाे गर्दै आएकाे तथ्य स्पष्ट नै छ । त्यस्ता तत्वहरू इतिहासकाे गर्तमा सीमित भइसकेका छन् । अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले काेही कसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर छ ।

शीशाकाे घरमा बसेर ढुंगा हान्नेहरू आफै असुरक्षित र पतन हुनु अनिवार्य छ । जागृति, चेतना, संस्कार र सदाचारका मानकहरू सम्बन्धित व्यक्तिअनुरूप नै व्यवहारमा अभ्यास गरिने र भिन्नाभिन्नै हुने यथार्थ हरेक समाजका सचेत व्यक्तिलाई अवगत नै रहिआएकाे छ । राजनीतिक दलहरूले आफ्ना धारणा र विमति प्रष्ट्याउने गरी सरकारकाे आलाेचना र विराेध गर्न सक्छन् ।

तर राष्ट्रपति, प्रधानमन्त्री र जिम्मेवार पदाधिकारीविरूद्द प्रयाेग गरिने अपमानजनक, तथ्यहीन,भ्रामक र गैरजिम्मेवार भाषाप्रति गंभीर आपत्ति प्रकट गर्नैपर्छ, जाे सभ्य समाजकाे मूल्य र मानक विपरित रहेका छन् । तसर्थ: जसपाको औपचारिक विज्ञप्तिमा प्रमप्रति प्रयोग गरिएकाे भाषा निन्दनीय रहेकाेतर्फ सम्बन्धित सबैलाई स्पष्ट गर्दछु ।

प्रकाशित मिति : 09:50