९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

कोभिड–१९ कारण संसद्का विषयगत समितिका बैठक प्रभावित

-नारायण न्याैपाने

२६ साउन, काठमाडाैँ । सङ्घीय संसद् मातहतका विषयगत समितिका बैठक कोभिड–१९ को पछिल्लो सङक्रमण जोखिम अवस्थाले प्रभावित हुने भएको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिँडारीले कोभिड–१९ को सङ्क्रमण र अहिलेको अवस्थालाई विचार गरी पहिलो चरणमा सकेसम्म १५ दिनलाई कुनै पनि समितिको बैठक नराख्ने आज समितिको बैठकमा जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कोभिड–१९ बाट जनता र देश आक्रान्त भएको अवस्थामा समितिका बैठक राख्नु ठिक हो कि होइन भन्ने प्रश्न उठेको र छलफलपछि सकेसम्म १५ दिन कुनै पनि समितिको बैठक नराख्ने भन्ने भएको छ ।”

अबको १५ दिनको अवधिपछि सङ्क्रमणको अवस्था हेरेर त्यसपछिका बैठक पनि राख्ने वा नराख्ने बारेमा थप मूल्याङकन हुने बताउँदै सभापति बिँडारीले भन्नुभयो, “१५ दिनसम्म माननीयज्यूहरु पनि बडो होसियारीका साथ बस्नुहोला, सुरक्षितरूपमा आवतजावत गर्नुहोला, जिल्लामा जाँदा पनि सकेसम्म सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, साबुन पानीले हात धुने, कसैसँग हात नमिलाउने जस्ता नियम पालना गर्नुहोला ।”

कतिपय समितिका बैठक सञ्चालनका लागि भौतिक पूर्वाधारका संरचनाको अभावमा भौतिक र सामाजिक दूरी कायम गर्न असजिलो अवस्था छ । यद्यपि अब आउने हिँउदे अधिवेशनका निम्ति थुप्रै विधेयक तयार गर्नुपर्ने भएको र विधेयक समितिमा अलपत्र परेको हुँदा विधायन व्यवस्थापन समितिको बैठकलाई भने नियमित गर्ने कि भन्ने प्रश्न उठेको थियो ।

तथापि विषयवस्तु र आवश्यकताका आधारमा अत्यन्त जरुरी भएको खण्डमा जोखिमप्रति सजग रहने, भौतिक र सामाजिक दूरी कायम गर्ने, सङ्क्रमण हुन नदिने सबै उपाय अवलम्बन गरी कमभन्दा कम मानिस बोलाएर स–साना सङ्ख्यामा उपसमिति सञ्चालन गर्न भने सकिने जानकारी दिइएको छ । उक्त आधारमा बैठक राख्ने वा नराख्ने अधिकार समितिका सभापतिलाई दिइएको सभापति बिँडारीले सदस्यलाई जानकारी दिनुभयो । प्रतिनिधिसभा मातहत १०, राष्ट्रियसभा मातहत चार र संयुक्त सदन मातहत दुई वटा विषयगत समिति छन् । रासस

प्रकाशित मिति : August 10, 2020 at 7:32 pm