११ पुष २०८१, बिहीबार | Fri Dec 27 2024

शैक्षिक प्रमाणपत्र राखेर ऋण दिने निर्णयको स्वागत, कार्यान्वयन गर्न विद्यार्थी नेताको अाग्रह

१६ जेठ, काठमाडाैँ । सरकारले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था गरेकोप्रति विद्यार्थी संगठनका प्रतिनिधिले खुशी व्यक्त गरेका छन । अर्थमन्त्री डा युवराज खतिवडाले हिजो संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गर्दै बेरोजगारलाई स्वरोजगार बनाउन र पढ्नका लागि विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर रु सात लाखसम्म पाँच प्रतिशत व्याजमा ऋण उपलब्ध गराउने घोषणा गरेका थिए ।

सरकारको यो घोषणालाई स्वागत गर्दै अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङले यसले शिक्षामा नयाँ क्रान्ति ल्याउने बताए ।  उनले विद्यार्थीलाई दिइने ऋणले बेरोजगार विद्यार्थीलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेल्ने छ, उनले भने, “ऋणबाट गरीब, पिछडिएका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा पनि सहयोग गर्नेछ ।”

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले सरकारको यो कदमप्रति स्वागत गर्दै विद्यार्थीलाई यसबाट केही हदसम्म भएपनि राहत मिल्ने बताए । संघले निव्र्याजरुपमा ऋण माग गरे पनि सरकारले व्याजमा ऋण रकम दिएको बताउँदै उनले महँगो शिक्षा पढ्नलाई सहयोग नगर्ने बताए ।

अनेरास्ववियुका उपाध्यक्ष महेश वर्तौलाले विद्यार्थीका माग आंशिकरुपमा सरकारले सम्बोधन गरेको प्रतिक्रिया दिए । अाफूहरुले निव्र्याजी ऋण मागे पनि सरकारले पाँच प्रतिशतमा दिएको बताउँदै यसको प्रभावकारी कार्यान्वयनका लागि ध्यान दिनुपर्नेमा जोड दिए । विद्यार्थी संगठनले विगत एक वर्षदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिनका लागि माग गर्दै आएका थिए ।

यो पनि पढ्नुहोस्

–विद्यार्थीलार्इ दियो बजेटले खुशीः शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याजमा ऋण पाउने

प्रकाशित मिति : १६ जेष्ठ २०७५, बुधबार ०७:५७