५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

चेन्नई सुपर किङ्सलाई आइपिएलको उपाधि

१४ जेठ, काठमाडौँ । चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जित्न सफल भएको छ । दोस्रो पटक उपाधि उचाल्ने सनराइजर्स हैदरावादको सपना अधुरो बनाउँदै चेन्नईले उपाधि कब्जा गरेको हो । मुम्बईमा भएको फाइनल खेलमा हैदरबादले दिएको १७९ रनको चुनौती चेन्नईले ९ बल बाँकी छँदै २ विकेटको क्षतिमा भेट्टाएर महेन्द्रसिंह धोनीको टोली उपाधि उचाल्न सफल भएको हो ।

चेन्नईलाई उपाधि दिलाउन शेन वाट्सनले विस्फोटक पारी खेले । उनले नटआउट रहँदै ५७ बलमा ११७ रन बनाए । आईपीएलको फाइनलमा सतक बनाउने पहिलो खेलाडी पनि वाट्सन बनेका छन् । उपाधि भिडन्तका क्रममा टस हारेर पहिले ब्याटिङमा उत्रेको सनराइजर्स हैदराबादको टीमले २० ओभरमा ६ विकेट गुमाउँदै १७८ रन बनाएर चेन्नई सुपर किङ्सलाई १७९ रनको चुनौती दिएको थियो ।

जवाफमा चेन्नई सुपर किङ्सले शेन वाट्सनको विस्फोटक ब्याटिङको सहयोगमा ९ बल बाँकी रहँदै १८१ रन बनाएर तेस्रो पटक आईपीएल ट्रफीमा कब्जा जमायो । फाइनलमा शेन वाट्सनले ५१ बलमा सतक बनाएर चेन्नईको जित सहज बनाइदिए । चेन्नईका लागि शेन वाट्सन ५७ बलमा ११ चौका र ८ छक्का मद्दतमा ११७ रनमा क्रिजमा रहे । अहिलेसम्म सात पटक फाइनलमा पुगिसकेको चेन्नईले तेस्रो पटक उपाधि उचालेको हो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७५, सोमबार ०५:५६