नेकपाको विवाद सहमति नजिक, भोलिबाट स्थायी कमिटी बैठक सुचारू हुने
३ साउन, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद अध्यक्षद्वयले सहमतिमा टुंग्याउने भएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार ४ घण्टासम्म चलेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमति खोज्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले पार्टी एकताको रक्षा गर्ने र जनादेशको सम्मान गर्ने गरी सहमति खोजिने बताए । भोलिका लागि निर्धारत स्थायी कमिटी बैठक बस्ने श्रेष्ठले जानकारी दिए । नेकपाका प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि बैठकमा पार्टीकाे आन्तरिक समस्या र संकटलाई सहमतिकाे आधारमा संबाेधन र समाधान गर्ने बारेमा गृहकार्य भइरहेकाे जानकारी दिए ।
सल्लाहकार थापाले पार्टी एकताको रक्षा र सुदृढीकरण गर्न नेपाली समाजको आवश्यकता र जनादेश अनुरूप अघि बढ्ने प्रस्ताव तयार गर्ने, छलफल जारी राखेर सहमतिमा पुग्ने निष्कर्षमा नेताहरूले निकालेको जानकारी दिए । यसअघि नेताहरूको बीचमा सहमति हुन नसक्दा स्थायी कमिटीको बैठक निरन्तर स्थगित हुँदै आएको थियो । बैठक सकिए लगत्तै अध्यक्षद्धय भने शितल निवासतर्फ लागेका छन ।
प्रकाशित मिति : 20:05









