इजरायलमा बस्दै आएका झापाका युवाद्धारा कनकाई नगरपालिकालाई पिसिआर किट सहयोग
१ साउन, बनियानी । इजरायललाई कर्मभूमि बनाएका झापा कनकाई नगरपालिकाका युवाले कनकाई नगरपालिकालाई ७५० थान पिसीआर किट प्रदान गरेका छन् । नगरलाई कोरोना भाइरसमुक्त बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले त्यहाँका २९ युवाबाट सङ्कलन गरिएको रू दुई लाख ४७ हजार बराबरको ७५० थान पिसीआर किट प्रदान गरिएको कनकाइ–३ विपीन मैनालीले बताउनुभयो । “ कोरोना सङ्क्रमणका बेला आफूहरुले पनि केही रकम सहयोग गरेर पिसीआर किट दिएका हौँ”, इजराइलबाट किट लिएर आउनुभएका उहाँले भन्नुभयो ।

मैनालीसहित निर्मल दाहाल, तेजु खतिवडा, भिमा सिटौला, ओम थपलिया, श्रृजना चुडाल, सन्तोष शिवाकोटी, मदन शिवाकोटी, दिनेश शिवाकोटी, मुना शिवाकोटी, कविता बिमली, कुमार योङ्हाङ, दुर्गा प्रसाईं, चण्डिका सिटौला, कुमार शिवाकोटी, सीपी बाँस्कोटा, तारा सिटौला, लक्ष्मी खरेल, संगीता ओली र रोशन सिटौला लगयातले आर्थिक सहयोग गरेका छन् । उहाँबाट सङ्कलित रू दुई लाख ५१ हजारमध्ये पिसीआर किट खरिदपछि बचेको रू १८ हजार नगरपालिकाको समन्वयमा भिन्न क्षमता (अपाङ्गता) भएका मानिसलाई सहयोग गरिने मैनालीले बताउनुभयो । नगरपालिकामा बुधबार पिसीआर किट ग्रहण गर्दै नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले सहयोगी युवालाई धन्यवाद ज्ञापन गर्नुभयो ।
प्रकाशित मिति : July 16, 2020 at 3:45 pm



