१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

सरकारले गच्छेअनुसार माग पूरा गर्छ, ढुक्क हुनोस्ः प्रधानमन्त्री ओली

१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको क्षमता र गच्छेअनुसार यातायात व्यवसायी एवं यस क्षेत्रका मजदुरहरुको माग पूरा गर्ने आश्वासन दिनुभएकाे छ । यातायात क्षेत्रका समस्या एवं विभिन्न मागहरु लिएर ४ वटा संगठनका प्रतिनिधिहरु विहीबार  प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँगकाे भेटमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातयाता मजदुर संघका अध्यक्ष रामचन्द्र कार्कीलगायतको उपस्थिति थियो ।


यातायात मजदुर तथा व्यवसायीका कुरा सुनिसकेपछि प्रधानमन्त्रीले कोरोना महामारीका कारण देशको अर्थतन्त्र प्रभावित भएको र स्रोत साधनको अपर्याप्तता रहेको बताएका थिए । तथापि सरकारले आफ्नो गच्छेअनुसार व्यवसायी र मजदुरका माग पूरा गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएको सहभागी एक मजदुर नेताले बताएका छन् । प्रधानमन्त्री ओलीसँग भेट गर्नुअघि यो टोलीले नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग पनि भेट गरेका थिए । त्यस्तै बुधबार टोलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका थिए ।

प्रकाशित मिति : 11:40