९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

नुवाकोटको विदुरमा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय

३१ असार, काठमाडाैँ । नुवाकोट जिल्लाको विदुर नगरपालिकामा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यवासयिक तालिम परिषद् (सीटीभीटी) सोमबारको बैठकले विदुर नगरपालिकामा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय स्थापना गर्ने गरी सैद्धान्तिक सहमति दिएको शिक्षा तथा विज्ञान प्रविधिमन्त्रीका निजी सचिव विनोद न्यौपानेले जानकारी दिए ।

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले प्रमाणिकरण गरेको शिक्षालय स्थापना गर्नेसम्बन्धी निर्णय ।

न्यौपानेले सोमबारको बैठकले गरेको निर्णय मंगलबार शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले प्रमाणिकरण गरेका छन । योसँगै नुवाकोटको विदुरमा बहुप्राविधिक शिक्षालय स्थापना हुने निश्चित भएको छ । नेकपाकै केही नेताको असहमतिका बाबजुत सांसद हितबहादुर तामाङ, नेकपा प्रदेश नम्बर तीन कमिटीका सदस्य रामशरण प्याकुरेल नेकपा नुवाकोटका युवा नेताहरू गणेश श्रेष्ठ, नारायण घिमिरे, अनुजकुमार श्रेष्ठ र नुवाकोट सरोकार समाजले नुवाकोटमा प्राविधिक शिक्षालय स्थापना गर्ने विषयमा पहलकदमी लिँदै आएका थिए ।

स्वर्गीय पोष्टबहादुर बोगटी ।

नुवाकोटको विदुर नगरपालिकामा बहुप्राधिक शिक्षालय स्थापना गर्ने निर्णय भए पनि जग्गाको विषय खोजीकै चरणमा रहेको नुवाकोट सरोकार समाजका महासचिव अनुजकुमार श्रेष्ठले जानकारी दिए । उनले नगरपालिकाको वडा नम्बर २ मा स्थानीयहरूले ६५ रोपनी जग्गा शिक्षालय स्थापनाका लागि भनेर खोजीगरेको जानकारी दिए । शिक्षालय स्थापनाका लागि कम्तिमा ५० रोपनी जग्गा आवश्यक हुने मन्त्रीका निजी सचिव न्यौपानेले बताए । सम्भाव्यता अध्ययनको क्रममा अन्य वडामा जग्गाको खोजी हुने बुझिएको छ ।

लामो राजनीतिक पृष्ठभूमि भए पनि नुवाकोटमा प्राविधिक शिक्षालय स्थापनाका लागि नेपाली कांग्रेसले खासै चासो नदिइरहेको सम्बन्धमा नेकपा नुवाकोटको नेताहरूले नेकपाको सरकार रहेको बेलामा शिक्षालय स्थापनाको निर्णय गराउन सफल भएका छन । यसअघि ६४ जिल्लामा प्राविधिक शिक्षा तथा व्यवासयिक तालिम परिषद् स्थापना भैसकेपनि नुवाकोटमा भने पहिलो पटक सिटीभिटीको आंगिक कलेज स्थापना हुने भएको छ । यो नुवाकोटका नागरिकका लागि खुशीको विषय हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र मन्त्री गिरीराजमणि पोखरेल ।

तत्कालनी माओवादी केन्द्रका महासचिव रहेका स्वर्गीय बोगटीको स्मृतिमा स्थापना हुने बहुप्राविधिक शिक्षालयका लागि केही सातामै सम्भाव्यता अध्ययनको काम समेत सुरू हुने भएको छ । उक्त शिक्षालयसँगै  काठमाडौँको टोखा नगरपालिका वडा नम्बर ३ मा मनमोहन पोलिटेक्निकल इन्स्टिच्यूट पनि स्थापना हुने भएको छ । उक्त इन्स्टिच्यूट स्थापनाका लागि पनि सम्भाव्यता अध्ययनको काम सुरू गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : July 15, 2020 at 10:58 am