प्रधानमन्त्री ओलीविरूद्धको दुष्प्रचारको भ्रममा नपर्न सल्लाहकार थापाको आग्रह
३१ असार, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीविरूद्धको दुष्प्रचारको भ्रममा नपर्न आग्रह गर्नुभएको छ । उहाँले बुधबार प्रेस नोट जारी गर्दै स्वीस बैंकसम्बन्धी प्रोपोगाण्डा प्रधानमन्त्रीको चरित्रहत्या गर्ने सुनियोजित षडयन्त्र रहेको स्पष्ट पार्नुभएको छ ।

सल्लाहकार थापाले ग्लोबल वाच एनालाइसिसूको हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ प्रधानमन्त्रीको विरूद्धमा दुष्प्रचार गरेको भन्दै त्यसको भ्रममा नपर्न आग्रह गर्नुभएको छ । उहाँले राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील बेलामा विषयान्तर गर्न समाचारका नाममा प्रोपोगाण्डा गरिएको बताउनुभएको छ ।

सल्लाहकार थापाले सम्बन्धित निकायहरूले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग समेत गर्नुभएको छ । उहाँले जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूको रवैया खेदजनक रहेको बताउनुभएको छ ।
प्रकाशित मिति : 09:17









