१ कार्तिक २०८३, शनिबार | Sun Oct 18 2026

नुवाकोटको भैरवीदेवी मन्दिरमा सुनको छाना लगाइदै

२९ असार, बेत्रावती । विनाशकारी भूकम्पबाट क्षति पुगेको ऐतिहासिक धार्मिक महत्व बोकेको शक्तिपीठ नुवाकोटको भैरवीदेवी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा तामाको पातामा सुनको जलपसहितको छाना लगाउन थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभागमार्फत बहुवर्षीय योजनाअन्तर्गत रु चार करोड ५९ लाखमा निर्माण भइरहेको मन्दिरको लक्ष्यभन्दा केही ढिलाइ गरेर काम अन्तिम चरणमा पुगेको स्मारक संरक्षक तथा नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुनप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्यागोडा शैलीमा निर्माण गरिएको दुई तले मन्दिरको माथिल्लो तलामा सुनको छाना राख्न थालिएको छ भने तल्लो तलाको छाना टायल लगाई यसअघिको स्वरूपमा बनाउन लागिएको हो । पुरातत्व विभागका इन्जिनीयर गोविन्द अधिकारीका अनुसार तामाको पातामा सुनको जलप लगाई छाना बसाल्न अहिले एक किलो सुनको जलप लगाउँदै छाना राख्ने काम भइरहेको छ । छाना राख्ने काम पूरा गर्न करिब एक साता लाग्ने छ भने छानामा एक किलोग्राम ३० तोला सुन लाग्ने अनुमान छ । शाके सम्वत्मा निर्माण गरिएको भैरवीदेवी मन्दिरको आधुनिक समयमा गरिएको पुनःनिर्माणमा परम्परागत मौलिकतालाई नै कायमै राखेर बनाउने सम्झौताअनुसार पेरा/तुलसी, गुल्लीभर वल्ड जेभी कम्पनीले निर्माण गरेको हो ।

विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षति पु¥यााएको मन्दिरको पुनःनिर्माण पुरातत्व विभागमार्फत भए पनि मन्दिर परिसरका नुवाकोट दरबारसहित दरबार क्षेत्रका विभिन्न १० पुरातात्विक एवं धार्मिक महत्वका सम्पदाको पुनःनिर्माण चीन सरकारमार्फत गर्न लागिएको छ । एक वर्षअघि भएको सम्झौताअनुसार ४५ महिनामा निर्माण सक्ने गरेर चिनियाँ टोलीले गत वर्षको असारबाट दरबारको पुनःनिर्माण शुरु गरेको थियो । तत्काल थप क्षति हुन नदिन खटसहितको टेको दिएर छाना लगाएको चिनियाँ टोलीले कोरोना रोगको सङ्क्रमणका कारण कार्यक्षेत्रमा नफर्कँदा हाल पुनःनिर्माण रोकिएको छ ।

प्रकाशित मिति : July 13, 2020 at 10:50 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/