२२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026

नेकपा नुवाकोटले निस्पक्षता देखाएको हेर्न मन छः नेता श्रेष्ठ

२८ असार, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटका नेता गणेश श्रेष्ठले जिल्ला नेतृत्वले नेता कार्यकर्तामाथि निष्पक्ष व्यवहार गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन । नेकपा अध्यक्ष हिरानाथ खतिवडा र सचिव नारायण खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा नेता कार्यकर्ताले अभिव्यक्ति दिने र प्रदर्शनमा सहभागिता जनाउनेक्रम बढी भएपछि शनिबार विज्ञप्ति जारी गर्दै त्यस्तो गतिबिधिमा संलग्न हुनेमाथि कारबाही गर्ने चेतावनी दिएका थिए ।

विज्ञप्तिपछि नेकपा नुवाकोटभित्र तीव्र असन्तुष्टि जन्मिएको छ । प्रधानमन्त्री ओली निकट मानिएका नेता कार्यकर्ता बढी नै रूष्ट बनेका छन । युवा नेताहरूले विभिन्न रूपमा पार्टीका नेताहरूसँग आफ्ना असहमति राखेका छन । नेकपाका युवा नेताहरूको अगुवा एवं निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश ख का नेकपाका पार्टी अध्यक्ष श्रेष्ठले विज्ञप्तिप्रति संकेत गर्दै कस्तो अभ्यास गर्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन ।

श्रेष्ठले भनेका छन  ‘७७ जिल्लामा नभाको मिटिङ नुवाकोटमा । हिजो एमसीसीका विरुद्धमा सडक जात्रा हुँदा केही नबोल्ने । आज पार्टी एक हुनुपर्छ, पार्टी एकतामा आँच आउने कुरा कसैबाट पनि गर्न हुन्न भनेर सरकारको समर्थन गर्दा चाहिँ नराम्रो ।’ उनले अघि लेखेका छन ‘किन तुरुन्तै कार्यसमितिको बैठक बस्नु पर्ने, हिजो बिदुरमा अमेरिकन एजेन्ट भन्दा चाहिँ पार्टी नेतृत्व कहाँ थियो ? त्यो बेलामा रोक्नु पर्ने होइन । त्यस बेला चाहिँ बैठक बस्न नपर्ने आज बस्नु पर्ने किन ?’

उनले खतिवडाद्धयमाथि विशेष अनुरोध गर्दै सम्पूर्ण कार्यकर्तालाई एउटै रूपमा हेर्न आग्रह गरेका छन । नेता श्रेष्ठले पार्टीको त्यस्तो बैठकहरूले जनप्रतिनिधिलाइ जनताको भावनाअनुसार काम गर्न निर्देशन दिने अपेक्षा गरिएकोमा उल्टै कार्यकर्ता धम्क्याउने विज्ञप्ति निकालेको भन्दै असन्तुष्टि जनाएका छन ।

श्रेष्ठले भनेका छन ‘बैठक बस्यो भन्दा खुशी लागेको थियो । किनकी नेकपाबाट निर्वाचित जनप्रतिनिधिलाई जनताको भावना अनुसार काम गर्ने निर्देशन दिन्छ होला भनेको तर कुरो अर्कै आयो दुःख लाग्छ । जनप्रतिनिधि हरुले जनता भावनाअनुरूप काम गरेको छ कि छैन ? उहाँको कामहरू कस्तो छ ? जनताहरुको प्रतिक्रिया अनुसार कामकारबाही भएको छ या छैन भनेर बुझ्लान भनेको त कारबाहीको चेतावनी दिएका छन । यो नेतृत्वले निस्पक्ष भएर काम गरेको कहिले हेर्न पाउने ? 

प्रकाशित मिति : July 12, 2020 at 10:12 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/