कांग्रेस नेताले फुटाएको पत्रकारको क्यामराको क्षतिपूर्ति गाउँपालिकाले दिनुपर्छः सभापति केसी
११ असार, नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले अाफ्ना नेताले फुटाएको क्यामराको क्षतिपूर्ति गाउँपालिकाले दिनुपर्ने बताएका छन । नेपाल पत्रकार महासंघ र प्रेस संगठन लगायतका विभिन्न संस्थाले पत्रकारको क्यामरा खोसेर फुटाउने कांग्रेस नेताहरू माथि कारबाहीको माग गरेपछि केसीले त्यसको क्षतिपूर्ति गाउँपालिकाले दिनुपर्ने दलिल पेश गरेका हुन ।
बुधबार तारकेश्वर गाउँपालिकामा समाचार संकलन गर्न गएको पत्रकारको टोलीमाथि हातपात गर्दै क्यामरा खोसेर नेपाली कांग्रेसका नेता समेत रहेका वडा अध्यक्षहरूले फुटाइदिएका थिए । क्यामरा फुटाएसँगै कांग्रेसका नेता कार्यकर्ताले पत्रकारको हातखुट्टा भाँच्ने चेतावनी दिँदै नारावाजी समेत गरेका थिए ।

नुवाकोट कांग्रेसका सभापति केसीले समाजिक सञ्जाल मार्फत व्यक्त गरेको प्रतिक्रिया यस्तो छ
तारकेश्वर गाउँपालिकाको हिजो भएको गाउँ सभामा जे घटना घट्यो त्यो अत्यन्त दुःखद रह्यो । गाउँपालिकका अध्यक्ष, उपाध्यक्षले एकलौटी रूपमा बजेट बनाउँदै र मनोमानी तथा अपारदर्शी तरिकाले खर्च गर्दै आएकामा आइन्दा जनताको करबाट सङ्कलन भएको रकम जनताको हीतमा पारदर्शी रूपबाट विनियोजन गर्न वडाध्यक्षहरूले दिएको सुझावलाई निरन्तर लत्याई गाउँपालिकाको कोषलाई नेकपाको पार्टीगत सम्पत्ति जसरी मनलाग्दी निर्णय गरी बाँड्ने, गाउँसभा जस्तो महत्वपूर्ण फोरममा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई अपमानित गर्ने कार्यको हाम्रा साथीहरूले जसरी डटेर प्रतिवाद गर्नुभयो, म त्यसको प्रशंसा गर्दछु र आउँदा दिनमा पनि भ्रष्टाचार, अनियमितता र बेथितिको यसैगरी निर्भिकतापूर्वक विरोध गरिरहन आग्रह गर्दछु ।
गाउपालिकाको अन्याय र बेथितिको विरोध गर्ने क्रममा सञ्चारकर्मीमाथि पर्न गएको असहज अवस्था र सञ्चार सामग्रीमा पुग्न गएको क्षतिप्रति भने म दुःख व्यक्त गर्दछु । नेपाली कांग्रेस र यसका कुनैपनि नेता कार्यकर्ता लोकतन्त्रको प्राणका रूपमा रहेको स्वतन्त्र प्रेसमाथि अनुदार रहन सक्दैनन् । तारकेश्वरको घटना पनि प्रेसमाथि नेपाली कांग्रेसका वडाध्यक्षहरूको दुर्व्यवहार नभई गाउँपालिकाको अकर्मण्यताको विरोधको क्रममा भएको दुर्घटना हो । र, यसको जिम्मेवार प्रेस र हाम्रा वडाध्यक्ष साथीहरू नभई गाउँपालिकका अध्यक्ष र उपाध्यक्ष नै हुन् र सञ्चार सामग्रीमा पुगेको क्षतिको क्षतिपूर्ति पनि उनीहरूले नै व्यहोर्नु पर्दछ ।
अन्त्यमा,
निष्पक्ष पत्रकारिताको माध्यमबाट स्वतन्त्र पत्रकारिताको आत्मा जोगाउँदै अघि बढ्न प्रेस जगतलाई र स्वतन्त्र प्रेसको सम्मान गर्दै भ्रष्टाचार र बेथितिका विरुध्द यसैगरी डटेर विरोध गरिरहन कांग्रेससम्बध्द जनप्रतिनिधिहरूलाई पुनः आग्रह गर्दै गाउँपालिकाका अध्यक्ष उपाध्यक्षका कारण सिर्जित घटनाको जिम्मेवारी लिँदै सञ्चार सामग्रीमा पुगेको क्षतिको तत्काल क्षतिपूर्ति व्यवस्था गर्न सम्बन्धित अध्यक्ष, उपाध्यक्ष सँग आग्रह गर्दछु । जय नेपाल !
प्रकाशित मिति : 21:12









