१० असार २०८३, बुधबार | Wed Jun 24 2026

अध्यक्ष तिमिल्सिना र नवनियुक्त श्रीलङकन राजदूतबीच शिष्टाचार भेट

१० असार, काठमाडौँ। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि श्रीलङकाका राजदूत महामहिम हिमाली अरुनातिलकाबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बुधवार भएको भेटमा दुई देशको सम्बन्ध, साझेदारी, सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो।

भेटमा, अध्यक्ष तिमिल्सिनाले नवनियुक्त राजदूत अरुनातिलकालाई नेपालका लागि राजदूतमा नियुक्त हुनु भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। ‘नेपाल र श्रीलङ्का बीच लामो समयदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक तथा जनस्तरको सम्बन्ध सुमधुर रहँदै आएको छ,’ उहाँले भन्नुभयो, ‘नेपाल र श्रीलङ्का बीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ तुल्याउन दुई देश बीच हुने उच्च स्तरीय भ्रमणले थप सहयोग पुर्‍याउने र यसका कार्यमा यहाँको भूमिका महत्वपूर्ण हुने विश्वास लिएको छु।

गौतम बुद्धको जन्मस्थान नेपाल र बौद्ध धर्मालम्बीहरुको बाहुल्यता रहेको श्रीलंकाबीच सिधा हवाई उडानको कार्य सुरुवात भएकोमा खुशी व्यक्त गर्दै रुपन्देहीमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल केही महिनाभित्र सम्पन्न हुन लागेकोले अब श्रीलंकाबाट नेपाल भ्रमणमा आउने पर्यटकहरु सिधै गौतम बुद्ध जन्मेको स्थान लुम्बिनी क्षेत्रमा पाइला टेक्न सक्ने बताउनु भयो ।

अध्यक्ष तिमिल्सिनाले श्रीलंकाका धार्मिक पर्टकहरुका लागि हिन्दु र बौद्ध धर्मालम्बीका लागि महत्वपूर्ण रहेको गण्डकी प्रदेशस्थित मुस्ताङ्ग जिल्लामा रहेको मुक्तिनाथ मन्दीर पनि दर्शन गर्ने कार्यमा श्रीलंकेली नागरिकहरुलाई उत्प्रेरित गर्न महामहिमको कार्यकालमा महत्वपूर्ण भुमिका रहने कुरामा विश्वास व्यक्त गर्नु भयो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले सन् २०१८ मा नेपालमा भएको लगानी सम्मेलनमा श्रीलंका सरकारले गरेको प्रतिवद्धता समेत पूरा हुने कुरामा विश्वास व्यक्त गर्दै बढिभन्दा बढी श्रीलंकेली नागरिकलाई नेपालमा लगानी गर्नका लागि आह्वान गर्दै यसमा महामहिमको ठूलो भुमिका रहनेछ भन्ने कुरा व्यक्त गर्नु भयो ।

त्यसैगरी राजदूत अरुनातिलकाले भेटका क्रममा नेपाल र श्रीलङकाको सम्बन्ध सरकार, संसद र जनस्तरमा उच्च रहेको बताउनुभयो। दुई देशको सम्बन्धसांस्कृतिक मात्र नभई अध्यात्मिक समेत रहेको र झन बलियो हुँदै गएकोर आर्थिक सम्बन्धलाई पनि अगाडि बढाउन जरुरी रहेको छ बताउनुभयो।

उहाँले संयुक्त राष्ट्र संघ, सार्क तथा विमस्टेक जस्ता अन्तराष्ट्रिय फोरमहरुमा दुई देश बीच साझा बिचार तथा सहकार्य हुदै आइरहेको कुरा राख्नुभयो ।दुई देशका संसदबीचको सम्बन्ध र सहकार्यलाई अभिवृद्धि गर्न आवश्यक कार्य अघि बढाउने बताउनुभयो। राजदूत अरुनातिलकालेलुम्बनीका साथै नेपालका प्राकृतिक सुन्दर स्थानहरुको भ्रमण गर्न श्रीलंकाका नागरिकहरुलाई उत्प्रेरित गर्ने कार्यमा लाग्ने कुरा बताउनुभयो ।

प्रकाशित मिति : June 24, 2020 at 5:32 pm