१० असार २०८३, बुधबार | Thu Jun 25 2026

महिलालाई छुट्टै क्वारेन्टिनकाे व्यवस्था गर्न सांसदहरुकाे माग

२ असार, काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले सुदूरपश्चिमको कैलाली जिल्ला, लम्की चुहानगरपालिकाको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टिनमा भएको बलात्कारको घटनाको विरोध गर्दै घट्नामा संलग्न दोषीमाथि कडा कार्वाहीको माग गर्नुभएको छ ।राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की दिलकुमारी रावल थापा (पार्वती) ले विश्वसँगै नेपालसमेत कोभिड–१९ (कोरोना भाइरस) सँग सामना गरिरकेको विषम परिस्थितिमा कैलाली जिल्लाको शहीद माविको क्वारिन्टनमा रहेकी महिलामाथि भएको सामूहिक बलात्कारको घोर निन्दा र भत्र्सना गर्दै दोषीमाथि कडा कारवाही गर्नुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो, “महिला सङ्क्रमितको सङ्ख्या कम भएकाले महिला स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित छुट्टै जिल्लागत क्वारेन्टिनको व्यवस्था गर्न र सुरक्षाको सुनिश्चितता गर्न माग गर्दछु ।”नेकपाकै महेशकुमार महराले बलात्कारमा संलग्न दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्नेमा जोड दिनुभयो । सोही पार्टीका मायाप्रसाद शर्माले जाजरकोट नरगाढानगरपालिका बस्ने वीरबहादुर कामीको रोजगारीको सिलसिलामा मलेशियामा यही जेठ १५ गते मृत्यु भएको बताउँदै मृतकको शव नेपालसम्म ल्याउन सरकारको ध्यनाकर्षण गराउनुभयो । नेपाली काँग्रेसका प्रकाश पन्थले देशैभरी क्वारेन्टिनको अवस्था अत्यन्त कमजोर भएको बताउँदै कैलालीको क्वारेन्टिनमा भएको बलात्कार घटना अत्यन्त निन्दनीय छ, दोषीमाथि कडा कारवाही होस् भन्नुभयो । उहाँले मापदण्डविपरित सञ्चालन गरिएका क्वारेन्टिन तत्काल व्यवस्थित गर्नुपर्ने माग गर्नुभयो ।

प्रकाशित मिति : June 16, 2020 at 12:59 pm