१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

संविधान संशोधनमा साना दलको समर्थन

३१ जेठ, काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि विभिन्न साना दलले समर्थन जनाएका छन् । सभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले संविधान संशोधन गरेर नयाँ नक्शा समावेश गर्ने आजको दिन सबै नेपालीका लागि खुशीको दिन हो भन्नुभयो ।

“हामीले नक्शालाई संविधान संशोधन गरेर अगाडि बढाएका छौँ तर यत्तिले मात्रै पुग्दैन, अब जमीन नै फिर्ता लिने गरी वार्ता थाल्नुपर्ने हुन्छ, त्यसका लागि पनि सबै नेपाली एक जुट हुनुपर्छ”, उहाँले भन्नुभयो । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले नक्शा सार्वजनिक गर्दै संविधान संशोधनमार्फत कार्यान्वयन गरेर सरकारले साहसिक कार्य गरेको बताउँदै जमीन फिर्ता लिनका लागि आगामी दिनमा कूटनीतिक पहलसँगै विश्वको जनमत पनि लिनुपर्छ भन्नुभयो ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले नेपालको भूमि नेपालका पुर्खाले रगत बनाएर जोगाएको बताउँदै अहिलेको पुस्ताले त्यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । नेपालले लिम्पियाधुरा र कालापानीलगायत भूभागलाई समेटेर सार्वजनिक गरेको नक्शा अन्तरराष्ट्रिय समुदायसम्म पु¥याउनुपर्ने उहाँको भनाइ थियो ।

प्रकाशित मिति : 16:07