१० असार २०८३, बुधबार | Thu Jun 25 2026

संविधान संशोधनको पक्षमा मतदान गर्ने जसपाको औपचारिक निर्णय

३० जेठ, काठमाडाैँ । जनता समाजवादी पार्टीले सरकारले संसदमा पेश गरेको नेपालको संविधान संशोधन दोस्रो विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको जसपाका पदाधिकारीहरुको बैठकले नेपालको संविधानको अनुसूची-३ संशोधन गर्न संसदमा प्रस्तुत गरिएको ‘नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक’को पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

केही दिनअघिमात्रै निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको जसपाले सरकारले ल्याएको संविधान संशोधनको पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको हाे । बैठकपछि पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना सदस्यहरुलाई ह्‍विप जारी गर्नेछ। भोलि बिहान ११ बजेका लागि संसदीय दलको बैठक पनि बोलाइएको छ ।

यसअघि नै जसपाले संसद बैठकमा संविधान संशोधन विधेयकको पक्षमा उभिने जनाएको थियो। तर औपचारिक निर्णय गरेको थिएन। यद्यपी दुई दिनअघि मात्र तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरीले यो विधेयकविरुद्ध संसदमा संशोधनको सूचना दर्ता गरेकी छिन्।

जुन अझैसम्म फिर्ता भएको छैन। पार्टीले संशोधनको सूचना फिर्ता नलिए सांसद पदबाट नभई पार्टीको साधारण सदस्य पनि नरहने गरी निष्कासन गर्न सक्ने जसपाले स्पष्ट बताइसकेको छ। पार्टीको यो निर्णयसँगै गिरीमाथि संशोधनको सूचना फिर्ता लिन दबाब बढेको छ।

प्रकाशित मिति : June 12, 2020 at 6:03 pm