राजनीतिक नेतृत्व र सरकारको आलोचना छाडेर कोरोनाविरुद्ध लडाैँः मन्त्री ढकाल
३० जेठ, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले राजनीतिक नेतृत्व र सरकारको आलोचना छाडेर कोरनाविरुद्ध लड्न अनुरोध गरेका छन । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कान्ति बाल अस्पतालको इ टिकेटिङ एप्स शुभारम्भ गर्दै मन्त्री ढकालले कोरोनामा राजनीतिको प्रवेश भएको भन्दै अहिलेको समय राजनीति गर्ने भन्दा पनि कोरोनाविरूद्ध सबै मिलेर लड्ने रहेको बताउनुभयो ।

पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय सरकारविरुद्ध भइरहेका प्रदर्शनहरुलाई लक्षित गर्दै मन्त्री ढकालले कोरोनामा राजनीति मिसिने खतराहरु बढेको उल्लेख गरे । उनले भने, ‘‘सुरुमा रोगबाट मात्रै आक्रान्त थियौँ हामी । पछिल्लो दिनमा राजनीति पनि मिसियो । खतराहरु बढ्दै गएको हुनाले अब राजनीतिक कोरोनासँग लड्नका लागि विश्वको भन्दा फरक मोडालिटीमा प्रवेश गर्न लागेका छौँ । ’’
मन्त्री ढकालले विश्वका अन्य कुनै पनि मुलुकमा राजनीतिक नेतृत्व र सरकारको आलोचना भन्दा पनि कोरनाविरुद्ध कसरी लड्न सकिन्छ भन्ने हिसाबले काम भएपनि नेपालमा त्यसो हुन नसकेको बताए । पछिल्लो १, २ दिनका घटना हेर्दा कोरोनामा राजनीति प्रवेश गरेको उनको निष्कर्ष छ ।

मन्त्री ढकालले कान्ति बाल अस्पतालले सुरू गरेको इ टिकेटिङ प्रविधिले समयको बचत हुनुका साथै आर्थिक अनियमितताको सम्भावना शून्यमा झार्ने बताए । उनले जशक्ति व्यवस्थापनमा पनि यस एप्सले सहज बनाउने भन्दै मन्त्री ढकालले परिचयका आधारमा द्रुत सेवा प्राप्त हुन्छ भन्ने धारणा हराउँदै जाने बताए ।
मन्त्री ढकालले एप्सको प्रयोग गरिएसँगै न्यून जनशक्तिका भरमा काम गर्न सजिलो हुने उल्लेख गरे । “घण्टौँ लाइनमा बस्नुपथ्र्यो, अब यसले त्यो समस्या हटाउने निश्चित छ”, उनले भने, “यो सेवा चर्चा पाउनेसम्मका लागि सीमित बन्नु हुँदैन, यो सेवालाई निरन्तरता दिनसक्नु पर्छ ।” अस्पतालमा लाग्ने भीडलाई व्यवस्थित गर्न प्रयोग गरिँदै आएको जनशक्तिलाई अब अन्य काममा लगाउन सकिने मन्त्री ढकालको भनाइ छ ।

प्रकाशित मिति : 13:41









