४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

राष्ट्रकवि माधव घिमिरेको आन्तरिक रक्तस्राव रोकिएन, थप उपचारका लागि अाज भारत लगिदै

९ जेठ, काठमाडाैँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि अाज भारत लैजाने तयारी गरिएको छ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहनु भएका घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लैजाने तयारी गरिएको उहाँका छोरी उषा अधिकारीले जानकारी दिनुभयो । घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा उपचारका लागि भारत लैजान लागिएको उहाँले बताउनुभयो ।

गएको वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तस्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना हुनुभएको हो । उहाँको उपचारमा संलग्न चिकित्सक डाक्टर विवेक शर्माले सानो आन्द्राबाट नियमित रक्तश्राव आउने ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारको लागि भारत लैजान सुझाव दिएको बताउनुभयो ।

‘हाम्रो अस्पतालमा भएको सबै प्रविधि प्रयोग गरेर उहाँको उपचार गर्‍यौँ, तर पनि अलिअलि रक्तस्राव भइरहेको छ’, उहाँले भन्नुभयो, ‘साना आन्द्राको कुन भागबाट रक्तस्राव भइरहेको छ । त्यो पत्ता लगाउने उपकरण नभएकाले रक्तस्राव रोक्न हामीलाई समस्या भयो । त्यसैले थप उपचारका लागि भारत लैजान सुझाव दिएका हौँ ।’ उहाँका अनुसार सानो आन्द्रा परीक्षण गर्ने ‘इन्टेरोस्कोपी’ उपकरण अस्पतालसँग छैन ।

उहाँले घिमिरेको पहिलेको भन्दा स्वास्थ्य अवस्था राम्रो भएको बताउनुभयो ।१९७६ असोज ७ गते जन्मिनु भएका घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले चार महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो ।

छोरी अधिकारीले बुधबार अपराह्न ५ बजे नेपाली सेनाका चिकित्सक डाक्टर शिवविक्रम सिलवाल र छोरा इन्दीवरका साथ उहाँलाई भारत लैजाने तयारी गरिएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्थाबारे सोमबार जानकारी लिनुभएको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार ०९:३५