६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्त उपाध्यायसहित चार विरूद्ध भ्रष्टाचार मुद्दा

२३ जेठ, काठमाडाैँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले शुक्रबार उपाध्ययसहित चार जनाविरूद्ध २६ लाख १६ हजार १० रुपैयाँको भ्रष्टाचार  मुद्दा दर्ता गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले विज्ञप्तिमा उल्लेख गरे अनुसार संस्थानका महाप्रबन्धक उपाध्याय, पूर्वमहाप्रबन्धक सुशील कोइराला, पूर्व अर्थ निर्देशक राम सुन्दर चौधरी र आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रालिका सञ्चालक दीपक कुमार भन्सालीविरूद्ध मुद्दा दायर गरेको छ ।

गोरखापत्र संस्थानले प्रिन्ट कागज खरिद गर्दा भन्सार छुटको लागि सिफारिस गरी रकम हिनामिना गरेका थिए । आयोगलेले संस्थानका महाप्रबन्धक उपाध्याय, पूर्वमहाप्रबन्धक कोइराला, पूर्व अर्थ निर्देशक चौधरीलाई ४ देखि ६ वर्ष सम्मको कैद र सञ्चालक भन्सालीलाई दुई वर्षसम्म कैदको माग गरेको छ।

यो पनि पढ्नुहोस्

-कागज खरिदमा भ्रष्टाचार गरेका गोरखापत्रका महाप्रबन्धक बसन्त उपाध्याय दोस्रो पटक बर्खास्त

-गोरखापत्र संस्थानको १० टन कागज हरायो, नयाँ नेपालको प्रभावकारिता जाँच्ने नाममा १९ लाख स्वाहा

-सरकारविरूद्ध समाचार लेख्न कागज बाँड्ने कृष्णमुरारी र टीकारामले यसरी डुबाउँदैछन गोरखापत्र

-गोरखापत्रमा कार्यरत महिलामाथि कार्यस्थलमा दूर्व्यबहार, कर्मचारीलाई गोठालोको व्यवहार

-गोरखापत्रका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी रिपोर्टरको कोटामा राष्ट्रपतिसँगै विदेश

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एउटा विषयको अनुसन्धान सकेर मुद्दा दर्ता गरे पनि गोरखापत्र नै समाप्त पार्ने उद्देश्यले त्यहाँ भैरहेका अन्य आर्थिक गतिबिधिमा पनि छानविन गर्नुपर्छ । गोरखापत्रमा नयाँ पत्रिका छापेर बाँड्नेदेखि १० टन कागज गायब पारिएको विषयमा समेत अनुसन्धान र कारबाही हुन आवश्यक छ  ।

यस्तो छ अख्तियारको विज्ञप्ति

गोरखापत्र संस्थानले प्रिन्ट कागज खरिद गर्दा भन्सार छुटको लागि सिफारिस गरी रकम हिनामिना गरेको भन्ने समेत व्यहोराको उजुरी उपर अनुसन्धान हुँदा गोरखापत्र संस्थान र प्रिन्टसेल इमेजिङ प्रा.लि. बीच न्यूज प्रिन्ट कागज खरिदसम्बन्धी सम्झौतामा भन्सार महशुलबापतको सम्पूर्ण रकम प्रिन्टसेल कम्पनीकै हुने भन्ने स्पष्ट व्यहोराको सम्झौताविपरीत तत्कालीन महाप्रबन्धक सुशील कोइरालासमेतको मिलेमतोमा आफूलाई फाईदा र सम्झौताको शर्तविपरीत भन्सार छुट गराई सार्वजनिक संस्थान गोरखापत्र संस्थानलाई हानि नोक्सानी गराई रू.२६,१६,०१०/- प्रिन्टसेल इमेजिङ प्रा.लि. कम्पनीलाई फाइदा हुने गरी भन्सार छुट सिफारिस र भुक्तानी दिने लिने कार्य गरेको पुष्टि हुन आएकोले देहायबमोजिमका व्यक्तिहरुलाई देहायबमोजिम सजायको मागदाबी लिइएको छ ।

(क) गोरखापत्र संस्थानका तत्कालीन महाप्रबन्धक सुशील कोइरालाले भन्सार छुटको सम्पूर्ण दायित्व प्रिन्टसेल कम्पनीको हुने भन्ने सम्झौताको विपरीत गोरखापत्र संस्थानको तर्फबाट भन्सार छुटको लागि गलत सिफारिस गरी आपूर्तिदाता कम्पनीलाई केही रकम पेश्की भुक्तानीसमेत गरी भन्सार छुटबापतको रू.२६,१६,०१०/- रकम गोरखापत्र संस्थानलाई हानि नोक्सानी गराई प्रिन्टसेल इमेजिङ प्रा.लि. कम्पनीलाई फाइदा हुने कार्य गरेकोले निजको उक्त कार्य भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा ९ र ऐ. ऐनको दफा १७ बमोजिम कसुर भएकोले निज सुशील कोइरालालाई रू.२६,१६,०१०/- (छब्बीस लाख सोह्र हजार दश) बिगो कायम गरी  भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा ९ बमोजिम र ऐ. ऐनको दफा १७ मा उल्लेख भएबमोजिम दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।

(ख) गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायले प्रिन्टसेल इमेजिङ कम्पनी प्रा.लि.लाई भन्सार छुटबापत गोरखापत्र संस्थानले सिफारिस गरिसकेको अवस्थामा सो सिफारिसअनुसार भएको भन्सार छुट रकमलाई नजरअन्दाज गरी प्रिन्टसेल इमेजिङ प्रा.लि. कम्पनीलाई फाइदा र गोरखापत्र संस्थानलाई हानी हुने गरी बदनियतपूर्ण तरिकाले पेश्की भुक्तानी तथा भन्सार छुट भएको रकम नकटाई सम्झौताअनुसारको सम्पूर्ण रकमको नै अन्तिम बिल भुक्तानी गरी गोरखापत्र संस्थानलाई रू.२६,१६,०१०/- रकम हानि नोक्सानी गराएकोले निजको उक्त कार्य भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको देखिएकोले निज बसन्त प्रकाश उपाध्यायलाई बिगो रू.२६,१६,०१०/- (छब्बीस लाख सोह्र हजार दश) कायम गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।

(ग) गोरखापत्र संस्थानका तत्कालीन अर्थ निर्देशक राम सुन्दर चौधरीले प्रिन्टसेल इमेजिङ कम्पनी प्रा.लि.लाई भन्सार छुटबापत गोरखापत्र संस्थानले सिफारिस गरिसकेको अवस्थामा सो सिफारिसअनुसार भएको भन्सार छुट रकमलाई नजरअन्दाज गरी प्रिन्टसेल इमेजिङ प्रा.लि. कम्पनीलाई फाइदा र गोरखापत्र संस्थानलाई हानी हुने गरी बदनियतपूर्ण तरिकाले पेश्की भुक्तानी तथा भन्सार छुट भएको रकम नकटाई सम्झौताअनुसारको सम्पूर्ण रकमको नै अन्तिम बिल भुक्तानी गरी गोरखापत्र संस्थानलाई रू.२६,१६,०१०/- रकम हानि नोक्सानी गराएकोले निजको उक्त कार्य भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको देखिएकोले निज रामसुन्दर चौधरीलाई बिगो रू.२६,१६,०१०/- (छब्बीस लाख सोह्र हजार दश) कायम गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।

(घ) कागज आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रा.लि.का संचालक दिपक कुमार भंसालीले सम्झौताअनुसार सम्पूर्ण भन्सार शुल्क आफ्नो कम्पनीले नै सम्झौताअनुसारको रकमबाट नै व्यहोर्नु पर्नेमा सम्झौता शर्तविपरीत भन्सार छुटको लागि सिफारिस माग गरी रू.२६,१६,०१०/- भन्सार छुट गराई सम्झौताबमोजिमको सम्पूर्ण रकमसमेत सोही कम्पनीले नै भुक्तानी लिई कम्पनीलाई लाभ र गोरखापत्र संस्थानलाई ग्रैह्रकानुनी हानी पुर्‍याउने बदनियतले काम गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको देखिएकोले निज दिपक भंसालीलाई रू.२६,१६,०१०/- (छब्बीस लाख सोह्र हजार दश) बिगो कायम गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र ऐ. दफा बमोजिम बिगो असुल उपर गरी जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रकाशित मिति : June 5, 2020 at 3:59 pm