४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

विश्व युवा संगठनको महासभा अाजदेखि, ४२ देशका कम्युनिष्ट युवा काठमाडाैँमा

९ जेठ, काठमाडाैँ ।  विश्व प्रजातान्त्रिक युवा संगठनको महासभा अाजदेखि संघीय राजधानी काठमाडाैँमा हुँदैछ । प्रत्येक वर्ष आयोजना हुने यो बैठक पहिलो पटक नेपालमा हुन लागेको हो । यसअघि क्युवामा बैठक बसेको थियो ।

तीन दिनसम्म चल्ने महासभामा विश्वमा रहेका युवाको शिक्षा र रोजगारका समस्याबारे वहस गरी समाधानको उपायबारे छलफल हुने युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले जानकारी दिए ।

युवा संघ नेपाल र अनेरास्ववियूको आतिथ्य तथा संगठनको आयोजनामा हुने सो महासभामा विश्वमा कम्युनिष्ट आन्दोलनको समीक्षा तथा प्रचारप्रसार गरी अबको कम्युनिष्ट आन्दोलनको बारेमा साझा धाराण निर्माण गर्ने र विश्व साम्राज्यवादविरुद्ध रणनीतिक योजना बनाइने पाैडेलले बताए ।

 महासभामा विभिन्न देशबाट प्रतिनिधित्व गरेकाले युवाले कम्युनिष्ट आन्दोलन र युवाका बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा कम्युनिष्ट आन्दोलनको विषयमा कार्यपत्र प्रस्तुत गर्ने युवा संघका उपाध्यक्षा प्रभात विक्रम कटुवालले जानकारी  दिए ।

महासभामा साइप्रस, नामिविया, भियतनाम, लाओस, उत्तर कोरिया, क्युवा, स्पेन, पोर्चुगल, रसियालगायत ४२ देशका ७२ युवासहित २०० सयको सहभागिता हुनेछ ।

महासभाको उद्घाटन राष्ट्रिय सभागृहमा अाज विहान प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दैछन ।

विश्वमा रहेका कम्युनिष्ट र प्रजातान्त्रिक देशका युवा तथा विद्यार्थीको छाता संगठनको रुपमा रहेको यो संगठनमा विश्वका युवा र विद्यार्थीका २५० संगठन आबद्ध छन् । नेपालबाट युवा संघ नेपाल र अनेरास्ववियू उक्त संगठनका सदस्य रहेकाछन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार ०५:२५