२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

नेपाली राष्ट्रियताको छातीमा छुरा प्रहार भएको बेला गणतन्त्रको धाममाथि प्रायोजित हमला किन ?

-प्रा.डा.ऋषिराम शर्मा

नेपाली जनताले आफै बलिदानीपूर्ण सङघर्षमार्फत प्राप्त गरेको गणतन्त्र र आफै स्थापित गरेको गणतन्त्रको पावनधाम र पवित्र संस्था राष्ट्रपति प्रति नै आफै वितृष्णा फैलाउने गरी नियोजित र आग्रही रूपमा पटकपटक दुराग्रहपूर्ण समाचारहरूले सञ्जालका भित्ताहरू किन कुरूप रूपमा रङ्गिन्छन् ? हामी आफै गणतन्त्रको सिसाको घरमा बसेर आफैले स्थापना गरेको आस्थाको गजुरमाथि घृणा र विद्वेषका ढुङ्गा हामी आफै नै किन हिर्काइ रहेका हुन्छौँ ? र त्यसबाट क्षणिक आत्मरति लिनाको हाम्रो अन्तर्य के हो ?

साथै हामीले त्यसो गरेर आफूभित्र गुम्सिएको कुन मनोवैज्ञानिक रोगको उपचार गरिरहेका छौँ त ? कतै कुलीन र वंश परम्पराको तथाकथित उच्च कुलको व्यक्ति हेरिरहने बानी परेका दास संस्कारका कारण एउटी नेपाली सङ्घर्षशील चेलीले उक्त संस्थाको प्रमुख हुँदा हामीलाई अपाच्य भएको हो वा हाम्रो चिन्तनमै कही कतै कुनै रेडिमेड आग्रह कुण्ठा वा केही खोट भएर हो ?

सम्मानित राष्ट्रप्रमुख माथि एक करोडको कार्पेट सन्दर्भलाई लिएर सामाजिक सञ्जालमा बलात् भाइरल बनाई खोजिएको पछिल्लो प्रसङ्गलाई र सरकारको नीति र कार्यक्रम सम्बोधन गर्न राष्ट्रपति भवनमा जाँदा भएको सुरक्षा सवारीलाई लिएर उच्च संस्थाप्रति गरिएको तुच्छ टिप्पणीबाटै कुरो सुरु गरौँ । वैशाख १२ गते २०७७ सालका दिन राष्ट्रपति भवनको कञ्चनजङ्घा हलभित्रको नयाँ कार्पेट राख्नका लागि सहरी विकास मन्त्रालयको विज्ञापन गोरखापत्रमा प्रकाशित भयो । विदेशी पाहुनासँग भेट गर्ने उक्त हलमा उही किसिमले नियमित प्रक्रिया अनुसार नयाँ कार्पेट फेर्न भनी क्षेत्रफल र कार्पेटको गुणस्तर र मूल्यसमेत तोकी गरिएको विज्ञापनमा सत्ताइस लाखको बोलपत्र आह्वान गरिएको रहेछ !

आम जनमानसमा सम्मानित संस्थाप्रति नै वितृष्णा फैलाउने दुर्नियतले कतिपय मिडिया र समाजिक सञ्जालका भित्ता राष्ट्रपतिभवनमा एक करोडको कार्पेट भनी एक्कासी लत्पतिए ! ती प्रयोजित कुप्रचार हेर्दा त यस्तो लाग्थ्यो कि राष्ट्रपतिले एक करोडको कार्पेट राज्यको ढुकुटी दुरुपयोग गरेर आफ्नो निजी घर सजाउँदै हुनुहुन्छ । यस्तो हावादारी समाचारको ध्वंसात्मक खेती गर्नका लागि एक कान दुईकान मैदान भनेझैँ एउटा वर्ग निर्वस्त्र भएरै त्यस कुसमाचारको सुसम्प्रेषणमा ज्यानै फालेर लागेको देखियो भने त्यसो गर्ने को हुन् र तिनको निहितार्थ के हो भन्ने बुझ्न तस्वीर आफै बोल्ने भएकाले धेरै माथापच्चिसी गरिरहनै परेन !

विगत ज्येष्ठ तीन गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट आर्थिक वर्ष २०७७-७८ को नीति र कार्यक्म प्रस्तुत हुने दिन र ‘मदन आश्रित स्मृति दिवस’ संयोगवश एकै दिन पर्न गएको रहेछ ! मुलुकमा नश्ल वा कुलीनताका आधारमा राष्ट्र प्रमुख हुने जहानिया शासनका विरुद्ध जनताका छोराछोरी मध्येबाटै राष्ट्र प्रमुख हुने सुन्दर व्यवस्था हामीले नै चयन गरेका हौँ र के पनि बुझ्नु जरूरी छ भने त्यसरी उक्त पदमा आसीन हुने व्यक्ति उक्त पदावधिका लागि व्यक्ति नभएर संस्था हुन्छ !

औपचारिक कार्यक्रम, राजकीय समारोहमा जाँदा व्यक्तिका रूपमा होइन संस्थाका रूपमा राष्ट्रपतिको सवारी हुने गर्छ ! राष्ट्रपतिले म जनताकी छोरी हूँ मलाई धेरै सुरक्षा चहिँदैन भन्न मिल्ने पनि होइन र भने पनि प्रोटोकल अनुसार चल्ने राज्यको संयन्त्र र सुरक्षा निकायले मान्ने कुरो पनि होइन । तर मुलुकको संसद भवनमा सरकारको नीति र कार्यक्रमको औपचारिक कार्यक्रम र समारोहमा जाँदाको स्वाभाविक सुरक्षा सवारीलाई लिएर जुन अस्वाभाविक र दुराग्रहपूर्ण टीकाटिप्पणी भए वा गरिए त्यसमा पनि सम्मानित संस्थाप्रति वितृष्णा फैलाएर एकछिनको न्यानोमा रमाउने वर्ग नै सक्रिय रहेको देखियो ।

नेपालको पहिलो सम्माननीय राष्ट्रपति रामवरण यादव हुनुभयो भने दोस्रो सम्माननीय राष्ट्रपतिका रूपमा एउटी महिलालाई हामीले नै सर्वोच्च आसनमा आसीन गराएका हौँ ! हिजो राजा राष्ट्राध्यक्ष हुन्थे, राजा र तिनका परिवार वंशानुगत रूपमा राष्ट्राध्यक्ष हुने ठाउँमा जनताका प्रतिनिधि छन् ! हामीलाई यो सौन्दर्य किन नपचेको होला ? हामीले व्यक्तिलाई राष्ट्रपति बनाइसके पछि व्यक्ति गौण र पद प्रमुख हुन्छ । राष्ट्रपतिलाई व्यक्तिका रूपमा मात्र हेर्ने निरन्तर गल्ती गर्दै किन छौँ हामी ?

कही नभएको जात्रा हाँडी गाउँमा भनेझैँ यहाँ छ छ महिनामा फेरिएका प्रधानमन्त्रीहरु जो यहाँ हुनुहुन्छ, त्यत्तिकै मात्रामा उपप्रधानमन्त्री र गृहमन्त्रीहरू हुनुहुन्छ ! पदमुक्त भै सके पछि पनि सुरक्षाका नाममा दर्जनौँ सुरक्षाकर्मीहरूका काफिला वहाँहरूका फछाडि साइरन बजाउँदै बाटामा ध्वनिप्रदूषणसाथ कुँदेको तर्फ त्यस्ताको ध्यान किन जाँदैन ? तर पदासीन राष्ट्रको प्रमुखले त्यसरी हिँडेको देख्दा त्यस्ता कतिपय रिसले दारा किट्न थाल्छन् । हामीले पदमुक्त नेताका लागि राज्यको ढुकुटी किन यसरी स्वाहा पारिँदै छ भनेर उहाँहरूलाई कहिल्यै प्रश्न किन गर्दैनौँ ! जुन मिडिया राष्ट्रपतिका आज बिरुद्ध जेहाद छेड्दै छ, उसले पाँच रुपयाँमा पत्रिका बेचेर समाचारको विषादी छर्दै करोडौँ रूपियाँ कारोबार कसरी गरिरहेछ भन्ने कुरो ठम्याउन यिनै निर्देशनात्मक समाचारहरू नै काफी छन् !

मुलुकमा साउथ इन्डियन फिल्मका खलनायकजस्ता केही चरित्र छन् ! जसको सत्ता भोकको हुँडार चरित्रका कारण मुलुकमा स्थायी सरकार हुँदा पनि ती तत्व सधै सङक्रमण कालका झैँ अस्थिरताको स्लो पोइजन (मन्दविष) छर्न उद्यत छन् ! त्यस्ता चरित्रहरूका विध्वंश र हजार पाप पखाल्न र नायकत्व स्थापित गर्नका लागि दिलोज्यान दिएर लाग्ने केही मिडियाको रहस्यमय चलखेल समयक्रममा क्रमशः उदाङ्गिदै जाला नै । पदमुक्त अमुक नेताले यति धेरै सुरक्षाकर्मीहरूको प्रयोग गर्दा राज्यलाई हुने र भएको क्षति बारे ऊ मौन छ किनकि अन्नदाताका बिरुद्ध लेख्नु नमकहरामी हो र नूनको सोझो गर्दै आदेशानुसार राज्यका विररुद्ध जेहाद छाड्नु नमकहलाली हो भन्ने सम्बन्धित लाई प्रस्ट थाहा छ ।

कुनै अमुक ठेकेदारले अरबौँको ठेक्का लिएर काम तामेलीमा राख्दा मुलुकले बेहोरेको आर्थिक घाटा र जनताले बेहोर्नु परेको सास्ती जगजाहेर छ, मुलुकका यस्ता घातक मुद्दाबाट अन्यत्रै ध्यान मोड्न छरिने प्रायोजित समाचारहरूको आयु धेरै हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि यस्ता निबन्धात्त्मक समाचार प्रेषण गरेर रमाउनेहरूले निरन्तर आत्मरति लिइरहेछन् र आफूभित्रको ध्वंसात्मक उर्जाको कुण्ठाबम आदेशानुसार मिडियाका पानाहरूमा पड्काइरहेछन् ! त्यही समाचारका कारण आम जनतामा भ्रम फैलाउन नजानी नजानी लाग्ने अन्जानहरूका बारेमा त केही भन्नु छैन तर जानीजानी सम्मानित संस्थालाई बदनाम गरेर रमाउने आफ्नै कुलका कुलाङ्गारहरूको यस्तो कुत्सित रोगको पहिचान र समयमै उपचार र रोकथाम गरिएन भने बूढी मार्ने काल पल्केर सिङ्गो कुल नै भस्म नपार्ला भन्न सकिन्न ।

हाम्रा सम्मानित संस्थाप्रति कुत्सित उद्देश्यसाथ प्रायोजित रूपमा अनवरत प्रहार गर्नेहरूका बाह्र वर्षदेखि यताको ट्र्याक रेकर्ड हेरौँ ! ती नागाहरूका महल एकाएक कसरी ठडिए र तिनका ग्यारेजमा पचासौँ लाख र करोडौँका गाडीहरूको स्रोत के हो ? तिनको दैनिकी किन कुनै अरबपतिहरूका भन्दा कसरी अब्बल हुन पुग्यो ? कि विद्युत गतिमा अग्रगामी छलाङ् हान्दै अवैध आर्जनको स्रोत हेर्न हुन्न भन्ने कतै कानुनका कुनामा लेखेको पो छ कि ? वा तिनको एक्कासी सुन्निएको नव धनाढ्यको हैसियत खोज्न डराएर कानुन र करले नै डरले छुलछुल मुतिरहेका छन् ! कि यिनले जब्बर साढे भएर जतापनि सिगौरी खेल्दै गणतन्त्रका कान्ला भत्काउने लाइसेन्स पाएका छन् ? तिनीहरू कुमार्गमा लागेर सम्पत्ति कमाएका कुमार्गी हुन् कि सुमार्गी ? प्रश्न अनगिन्ती छन् र यी प्रश्न कसैले उठाउलान् कि भन्ने भयले मानौँ “चोर मचाये शोर”का शैलीमा योजनाबद्ध हमलामा उत्रिरहेछन् !

एकताका डेढ अरबको हेलिकप्टर र अठार करोडको गाडीका नाममा सम्मानित संस्थालाई यसरी खुइल्याइयो कि बिचरा एकजना लोक गायकले त लुटपुराणको गीतै रच्न भ्याए ! त्यो मौसमी गाली त्यसै मत्थर भयो ! भनिन्छ, पूर्व राष्ट्रपतिका कार्यकालमा ती वस्तुहरू किन्ने निर्णयहरू भएका थिए । त्यसबेला उहाँमाथि कुनै हमला गरिएन किनकी ती किनारीकृत समुदायका भए पनि एक पुरुष थिए ।

संसार भरिका राष्ट्रप्रमुख आएर नेपाली राष्ट्र प्रमुखलाई भेट्नुपर्छ ! र त्यो एक संस्था अविच्छिन्न उत्तराधिकार वाला संस्था हो भन्ने बुझेकै मान्छेहरूलाई थाहा हुनुपर्ने हो । भनिन्छ, अहिलेका राष्ट्रप्रमुखले चढ्ने विद्युतीय सवारी साधन साठी लाख हाराहारीको गाडी हो ! तर रोडपतिबाट अल्पकालमै करोडपति बन्नेहरू त्यो भन्दा महँगो गाडी चढिरहेछन् र मालिकको आदेश अनुसार अठार करोडको गाडी भनेर सम्मानित गणतान्त्रिक संस्थालाई निरन्तर रूपमा र निर्लज्ज रूपमा खुइल्याइ रहेछन्, !

संसारमा राष्ट्रप्रमुखहरू चढ्ने हेलिकप्टर हुन्छन् । यो राष्ट्रिय इज्जत र प्रतिष्ठासँग गाँसिएको विषय पनि हो । चिनियाँ कम्युनिस्ट पार्टीका नेता र राष्ट्रपति जब नेपाल भ्मण आउनु भयो, निजी विमानहरू र आफू चढ्ने गाडी समेत लिएर आउनु भयो ! हो, हामी गरिब छौँ, तर हामी त्यति दरिद्र पनि त छैनौँ कि हाम्रा राष्ट्रपतिसँग शिष्टाचार भेट गर्न आउने महामहिमहरुका अगाडि राष्ट्रपति भवनका बैठक हलका थोत्रा कार्पेटहरू देखेर उहाँहरूले नाकै खुम्च्याउनु परोस् ! अर्को पटक आउँदा गलैँचा पनि उतैबाट ल्याउन परोस् !

व्यक्ति र सेनाका हेलिकप्टर भएका हाम्रो देशमा राष्ट्रपतिका लागि एउटा हेलिकप्टर किनिनुलाई राष्ट्रै लुटे जसरी राग अलापिनु दुर्भावनाको कहाँ सम्मको हद हो ! राष्ट्रपति फेरिइ रहन्छन् तर किनिएको त्यो वस्तु राष्ट्रपतिको पदावधि सकिए पछि अर्को राष्ट्रपतिले प्रयोग गर्ने हो भन्ने किन बुझिँदैन ? एक एकल र सरल महिला राष्ट्रपति भएकाले अजीर्ण भई वर्तमान राष्ट्रपतिमाथि पुरुष कुण्ठाका झुसिला डकारहरू सङगठित, नियोजित र दुराग्रहपूर्ण रूपमा पटकपटक रुटिन मिलाएर पोख्ने र पोख्न उत्प्रेरित गर्नेहरूको नियत प्रस्टै छ ! त्यस्ताले के बुझ्नु जरुरी छ भने यो व्यक्तिका विरुद्ध विषवमन नभई गणतन्त्रको पावन धाम माथिकै प्रायोजित हमला हो ।

अँ, राष्ट्रपतिको कार्यालयलाई बदनाम गर्न सङगठित र योजनाद्ध रूपमा लागेको गिरोहबारे उक्त कार्यालयको सचिवालय सचेत बन्नै पर्छ, समय र परिवेश अनुकूल कार्यालयका प्रथमिकताको पहिचान गर्दा यस्ता ‘के निहुँ पाउँ…’ भएका गिरोहका कुदृष्टि पो पर्ने थिएनन् कि ?

र अन्त्यमा मुलुकलाई वैश्विक महामारीले लपेटिरहेका बेला र छिमेकीले नेपाली राष्ट्रियताको छातीमा छुरा प्रहार गरिरहेका बेला दुबै तत्वसँग राज्य र आम जनता भिडिरहेका बेला त्यसको होस्टेमा हैसे गर्न छाडेर राष्ट्रका मूल मुद्दाबाट ध्यान अन्यत्रै मोड्न र राष्ट्रियताका विरुद्धको लडाइँलाई कमजोर पार्ने दुर्नियतले गरिमामय गणतान्त्रिक संस्थामाथि हिलो छ्याप्ने गरी यस्ता अराजक प्रवृत्तिका दूषित समाचार कसैले पनि नपस्कौँ र कसैले जबर्जस्ती पस्कन्छ भने पनि आम जनसमुदायले त्यस्ता समाचार सेवन गरी दीर्घरोग ननिम्त्याऔँ !

प्रकाशित मिति : June 3, 2020 at 9:29 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/