प्रधानमन्त्री ओलीको गीत ‘बन्छ नमुना नेपाल’ सार्वजनिक (भिडियोसहित)
१५ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित गीत ‘बन्छ नमूना नेपाल’ सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीको उक्त गीतमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् सङ्गीत विभाग प्रमुख समेत रहेका लोकप्रिय सङ्गीतकार प्राज्ञ अशोक राईले सङ्गीत गरेका छन् ।
देशप्रेम, देश विकास र समृद्धिको सपना झल्किने उक्त गीत गायक सञ्जय तुम्रोक र गायिकाद्वय दुर्गा परियार र श्रेयसी चेम्जोङले गाएका छन् । ‘स्वदेशमै रोजगारी स्वेशमै बास, रोजिँदैन प्रवास अब गर्ने देश विकास, खेर जान्नन् नदी नाला, बाँझा हुन्नन् डाँडापाखा, यो उर्वर सुन्दर देश’ बोलको गीत केपी ओलीले हालै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन त्रिभुवन शिक्षण अस्पतालमा बस्दा लेखेका हुन् ।
उक्त गीत सङ्गीतकार राईको साङ्गीतिक समूह अन्तराको युुटुब च्यानलमार्फत् सार्वजनिक गरिएको छ । वाङ्मयका विविध विधा साहित्य, कला, संस्कृति, सङ्गीत, इतिहास, दर्शन, सामाजिक शास्त्र लगायतका अनेकौँ विषयमा गहिरो अभिरूचि र ज्ञान राख्ने केपी शर्मा ओली विद्यार्थी जीवनदेखि नै प्रगतिशीलभावका कविता लेख्थे ।
उनका दर्जनौँ कविता तथा गीत प्रकाशित छन् । विदेशिएका जनशक्तिलाई स्वदेशमै फर्काएर यहीँ रोजगारी सृजना गरी देशविकासमा लगाउने भावधाराको यस गीतमा प्रधानमन्त्री ओलीको देश विकास र समृद्धिप्रतिको सुन्दर सपना र सङ्कल्प प्रष्टसँग कुँदिएको छ ।
प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार १५:५३