७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

चीनद्धारा टोखा नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

१५ जेठ, काठमाडौँ । कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न टोखा नगरपालिकालाई चीनको नाङ्सु नगरपालिकाले स्वास्थ्य सामग्री प्रदान गरेको छ । करिब एक करोड ६८ लाख बराबारको ती सामग्रीमा मेडिकल मास्क पाँच हजार, ननमेडिकल मास्क २० हजार, थर्मलगन ३००, एन–९५ मास्क पाँच हजार, व्यक्तिगत सुरक्षा कवच (पिपिइ) तीन हजार, मेडिकल आइसोलेसन चश्मा तीन हजार, पञ्जा पाँच हजार र मेडिकल जुत्ता तीन हजार र स्यानिटाइजर रहेका छन् ।

नगरप्रमुख प्रकाश अधिकारीलाई नाङ्सु नगरप्रमुख चाइ रेन लाङ जोङले कोरोना नेपाल र चीन सिमाना तातोपानीमा ती सामग्री हस्तान्तण गर्नुभयो । नगरप्रमुख अधिकारीले नाङ्सु नगरपालिकाले प्रदान गरेको स्वास्थ्य सामग्रीले आफ्नो नगरमा कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न सहयोग पुग्ने बताउनुभयो ।

“चीनमा पहिलोपटक कोभिड–१९ को सङ्क्रमण हुँदा हामीले सहयोगका लागि उहाँलाई आग्रह गरेका थियौँ”, उहाँले भन्नुभयो, “अहिले यहाँ सङ्क्रमण देखिएपछि उहाँहरुले हामीलाई सहयोग गर्नुभयो”, उहाँले सामग्रीले नगरवासीको स्वास्थ्य परीक्षण गरिने बताउनुभयो । अहिलेसम्म टोखा नगरपालिकामा दुई जनामा सङ्क्रमण देखिएको छ । दुई नगरपालिकाबीच एक वर्षअघि भगिनी सम्बन्ध भएको थियो ।

प्रकाशित मिति : May 28, 2020 at 11:52 am