७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

आज लकडाउनको ६५ औँ दिन, यस्ताे छ काेराेनासम्बन्धी पछिल्लाे अपडेट

१४ जेठ, काठमाडाैँ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउनको आज ६५ दिन पुगेको छ । सरकारले गत चैत ११ गते यता जारी गरेको लकडाउन जेठ २० गते सम्मका लागि लम्ब्याएको छ । लामो समय लकडाउन हुँदा जनजीवन प्रभावित भएपनि लकडाउनको पालना भने भएको छ । काठमाडौँ उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको आवागमन न्यून छ । अत्यावस्यक सेवाका सवारीसाधन, सञ्चारकर्मी, स्वास्थ्यकर्मी लगायत प्रशासनबाट पास लिएकाहरुको सवारी साधन भने सञ्चालनमा आएका छन् ।

प्रहरीले सवारीसाधनको जाँचलाई कडाई पारेको छ । अत्यावस्यक सेवा र पास बाहेकपनि सवारी चलाउनेलाई नियन्त्रणमा लिई कारबाही गरेको देखिन्छ । पछिल्लो समय कोरोना भाइरस संंक्रमणको संख्या बढ्दै जाँदा सरकारले लकडाउनलाई थप कडाई गरेको छ । उपत्यकाका मुख्य सडक बाहेक भित्रि सडकमा पनि लकडाउनको पालना भएको पाइएको छ । खाद्यान्न तथा तरकारीका पसलहरु बिहान र साँझको समयमा खुल्ने गरेका छन् ।

मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर खाद्य सामग्री किनमेल गर्ने गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार दिउँसो सम्म कुल संक्रमितको संख्या ७ सय ७२ रहेको छ । यस्तै यो अवधिसम्म १ सय ५५ जना निको भएका छन् भने चार जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म कुल ५४ हजार ४ सय २४ पीसीआर प्रविधिबाट परीक्षण भएको छ । देशभर ५ सय ८२ जना आइसोलेसनमा रहेका छन भने ५५ हजार २ सय ८२ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित मिति : May 27, 2020 at 12:34 pm