७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

आमाबाबुमा काेराेना सङ्क्रमण, १ वर्षे बालकको रिपोर्ट नेगेटिभ

१४ जेठ, दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका कोरोना सङ्क्रमित दम्पतीसँगै एकवर्षे बालक साथमा छन् । आरडिटी परीक्षण गरिएकामध्ये दम्पतीको रिपोर्ट पोजेटिभ देखिएपछि बालकसहित आमाबाबुको स्वाब सङ्कलन गरेर सुर्खेत प्रयोगशाला हुँदै नेपालगञ्ज पठाइएको थियो, रिपोर्टमा आमाबाबुको पोजेटिभ आए पनि बालकको भने नेगेटिभ आएको छ । उहाँलाई दैलेखको सरस्वती मावि तर्ताङमा निर्माण गरिएको आइसोलेसन अस्पतालमा राखिएको छ ।

बालक पनि उहाँकै साथमा रहेको छ । घरका आफन्तले उहाँलाई लिने वा सङ्क्रमित आमाबाबुसँगै बसाल्ने भन्ने विषयको अझै टुङ्गो लागेको छैन । उहाँसँगै अन्य सात जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । सबै भारतबाट आएका व्यक्ति क्वारेन्टिनमा भएकै बेलामा स्वाब सङ्कलन गरिएकाले समुदायमा फैलिन नपाएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

कर्णालीका पहिलो सङ्क्रमित दैलेखको आठबीस नगरपालिकाका एक युवालाई सरस्वती माविमा निर्माण गरिएको आइसोलेसनमा राखिएको भन्दै चर्को विरोधपछि उहाँलाई कोरोना अस्पताल सुर्खेत लगिएको भए पनि एकैपटक सात नयाँ सक्रमित देखिएपछि उहाँहरुलाई सरस्वती माविमै उपचारका लागि राखिएको छ ।

प्रकाशित मिति : May 27, 2020 at 12:12 pm