नरैनापुरमा काेराेना सङ्क्रमण बढेपछि स्थानीय सरकार गुहार माग्दै
११ जेठ, बाँके । नरैनापुर गाउँपालिकामा ११४ कोरोना सङ्क्रमित देखिएपछि स्थानीय सरकारले गुहार मागेको छ । गाउँपालिकाले शनिबार तीन तहका सरकार र सरोकार राख्ने निकायलाई पत्राचार गर्दै तत्काल उच्चस्तरीय चिकित्सकटोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न सरकारलाई आग्रह गरेको छ । गाउँपालिकाले क्वारेन्टिनबाट समुदायस्तरसम्म सङ्क्रमण फैलिने र अवस्था भयावह हुने सम्भावना देखिएकाले स्थिति नियन्त्रणभन्दा बाहिर जान नदिन बाँके प्रशासनमार्फत सङ्घीय र प्रदेश सरकार, जिल्ला सुरक्षा समिति र कोभिड–१९ सङक्रमण नियन्त्रण तथा व्यवस्थापन समितिको ध्यानाकर्षण गराउँदै पत्राचार गरेको हो ।

नरैनापुरमा एकको मृत्यु समेत भइसकेको छ । उच्चस्तरीय चिकित्सकटोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनुभयो । सङ्क्रमित र उनीहरुका परिवारलाई केही व्यक्तिले उक्साउने र कोरोना भाइरसबारे भ्रम सिर्जना गरी स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई असहयोग गर्ने, मनोबल कमजोर पार्ने र सङ्क्रमित भगाउने जस्ता क्रियाकलाप गरिरहेकाले सङ्क्रमण समुदायस्तरमै फैलिन सक्ने गाउँपालिकाले अनुमान गरेको छ ।
तत्काल उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गरी नियन्त्रण कार्यलाई अघि बढाउने व्यवस्थाका लागि अनुरोध छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दिइएको बोधार्थपत्रमा लेखिएको छ । नरैनापुरमा कोरोना सङ्क्रमितलाई भगाउनेहरु सक्रिय रहेकाले सुरक्षाको माग गर्नुपरेको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले जानकारी दिनुभयो । नरैनापुर नेपालमा कोरोना सङ्क्रमित सबैभन्दा बढी हुने स्थानीय तह बनेको छ । यहाँका क्वारेन्टिनमा भारतबाट नेपाल भित्रिने क्रम जारी छ ।
शिक्षा र चेतनाको कमीका कारण नरैनापुरमा कोभिड–१९ प्रतिको धारणा र अन्धविश्वासले पनि समस्या निम्त्याएको प्रमुख प्रशासकीय अधिकृत खरालले ध्यानाकर्षणपत्रमा उल्लेख गर्नुभएको छ । भारतका कोरोना अतिप्रभावित क्षेत्रबाट अझै हजारौंँ मानिस आउन सक्ने भएकाले जोखिम झन् बढ्न सक्ने गाउँपालिकाको ठहर छ । नरैनापुरको छोटी नाकाबाट भित्रिन सहज छ । बाँके प्रहरीले राति गस्तीसमेत बढाएर भारतबाट आउनेलाई चोरी नाकाबाट आउन नदिने रणनीति बनाएको छ ।
‘आँगन’ नै दशगजा रहेको यो पालिकाको धेरै गाउँबाट मानिस प्रवेश गरिरहेका छन् । गाउँपालिकाले लुकिछिपी गाउँमा कोही नबसून्, सबै क्वारेन्टाइनमा बसून् भन्ने नीति लिएर भारतबाट आएकालाई भ्याएसम्म क्वारेन्टिनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत खरालले बताउनुभयो । भारतका महाराष्ट्र र दिल्लीबाट यहाँ मानिस ओइरिरहेका छन् । यस गाउँपालिकामा मात्रै हालसम्म ८०० जना क्वारेन्टिनमा छन् ।
प्रकाशित मिति : May 24, 2020 at 2:35 pm





