वुटवलका १० कोरोना संक्रमितले एकसाथ कोरोना जितेर घर फर्किए
१० जेठ वुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराएका दश कोरोना संक्रमित आज निको भएर घर फर्किएका छन् । दुई हप्ता अगाडि कोरोना संक्रमण भएर अस्पतालको आइसोलेशनमा भर्ना भएका कपिलवस्तुका युवाहरु निको भएर घर फर्किएको बुुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा सुुदर्शन थापाले जानकारी दिनुभयो । “उहाँहरुमा आत्मबल बलियो भएका कारण उपचारमा सहज भयो ”, थापाले भन्नुभयो । निको हुने व्यक्ति १६ देखि ४० वर्ष उमेर समूहका छन् ।

भारतबाट लुुकिछिपी आएका युवामा संक्रमण देखिएको थियो । संक्रमितको लगातार दुुई कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । “कोरोनाबाट डराउनुपर्दैन । मनोबल उच्च राखे छिट्टै निको हुन्छ”, डा थापाले भन्नुभयो, यसबाट बच्न घरमै रहनु नै उत्तम हुन्छ ।”
बुटवलकोे कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुुका ३६ जनाले उपचार गराएकामा कपिलवस्तुका दश जना डिस्चार्ज भए पनि आजै थप सात जना संक्रमित भर्ना भएको डा थापाले जानकारी दिनुभयो । यसअघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युुवक निको भएर घर फर्किनुभएको थियो । शुक्रबार बाँकेको खजुुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना कोरोना जितेर घर फर्किएका थिए ।
प्रकाशित मिति : May 23, 2020 at 9:22 pm





